महराको दोष प्रमाणित भइसक्यो, सजाय हुनुपर्छ : दाहाल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० कार्तिक ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पूर्वसभामुख कृष्णबहादुर महरा दोषी प्रमाणित भएकाले उनीमाथि सजाय हुनुपर्ने बताएका छन् । यो प्रकरणमा दाहालले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

बुधबार दाङको घोराहीमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘महरा त्यो प्रकरणमा दोषी प्रमाणित हुनुभयो, यसर्थ उहाँलाई कसुरअनुसार सजाय हुनुपर्छ । यो मैले मात्रै नभएर सिंगो राष्ट्रले अपेक्षा गरेको कुरा हो ।’

प्रकरण बाहिर आएलगत्तै आफूले पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठलाई सत्यतथ्य बुझ्न पठाउँदा महराले ढाँटेको दाहालले बताए । थप अनुसन्धानका क्रममा महराको गल्ती साबित हुँदै गएपछि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग अब कसरी अघि बढ्ने भनी छलफल गरेको उनले जानकारी दिए । ‘गल्ती साबित हुँदै गएपछि उहाँलाई मैले नै राजीनामा दिनुस् भनेको हुँ, उहाँले त्यसलाई स्विकार्नुभयो,’ दाहालले भने ।

महराले माओवादी आन्दोलनमा गरेको योगदान स्मरणीय रहे पनि अदालतबाट आरोप प्रमाणित भएपछि सजाय पाउनुपर्ने उनको तर्क थियो । संसद् सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएका महरालाई पुर्पक्ष थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।