सरकारको नेतृत्व आधा-आधा समय गर्ने बिषय इतिहास भइसक्यो- अध्यक्ष दाहाल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० कार्तिक ।

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आधा-आधा समय सरकारको नेतृत्व गर्ने कुरा इतिहास भइसकेको बताउनु भएको छ ।

प्रेस सङ्गठनले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटकार्यक्रममा बोल्दै दाहालले पाँच वर्षसम्म यही सरकार स्थायी रूपमा चल्ने बताउनु भएको हो ।

उहाँले अर्को प्रसङमा दाङको राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार तयार पारेको जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले सरकारले केही दिनअघि गरेको प्रदेश प्रमुखको नयाँ नियुक्तिलाई समेत सामान्य भएको अथ्र्याउनुभयो ।

“सरकारले लचिलो भएर मात्रै उहाँहरुलाई दुई वर्ष काम गर्न दिएको हो, होइन भने पहिले नै पदमुक्त गर्न सकिन्थ्यो, सबैसँग मिलेर जाऊँ भनेर केही समय काम गर्न दिएको हो ।”

उहाँले उपनिर्वाचन सफल बनाउन नेता÷कार्यकर्तालाई लाग्न अनुरोध गर्न आफू यहाँ आइपुगेको बताउनुभयो । “उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ”, उहाँले भन्नेुभयो, “सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।”

नेकपा दाङले आज तुलसीपुरमा आयोजना गर्ने बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो ।

नेकपाका जिल्ला इञ्चार्ज जीवन गौतमका अनुसार प्रचण्डसँगै पूर्वसभामुख एवं पार्टीकी नेतृ ओनसरी घर्ती, पार्टी प्रदेश नं ५ का मुख्यमन्त्री शङकर पोखरेल पनि दाङ आइपुग्नुभएको छ ।

नेकपाले पार्टी एकतापछि अध्यक्षको सहभागितामा पहिलोपटक दाङमा बृहत कार्यकर्ता प्रशिक्षण आयोजना गर्नलागेको हो । प्रशिक्षण कार्यक्रम पार्टी एकता, पार्टीको नीति, विचार, आसन्न उपनिर्वाचनलगायतका विषयमा केन्द्रित हुने बताइएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।