सोमबार राति किन मासु पोलेकोजस्तो गन्ध? यस्तो रहेछ कारण

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ कार्तिक ।

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा रातको समयमा फैलिएको मासु पोलेकोजस्तो गन्धबारे प्रहरीले एक रहस्य बाहिर ल्याएको छ ।

प्रहरीको रहस्य भन्छ– राँगा तथा भैसीको हड्डी र छाला पोलिँदा यस्तो गन्ध आएको हो । ललितपुरको नख्खु खोला किनारमा प्रहरीले सो हड्डी तथा छाला जलाउने क्रममा सोमबार तीन जना पक्राउसमेत परेका छन् । उनीहरु पक्राउ परेसँगै यसको वास्तविकता बाहिर आएको हो ।

स्थानीयले सोमबार राति मासु पोलेको जस्तो गन्ध आएको भन्दै प्रहरीमा गुनासो गरेका थिए ।

गुनासोसँगै वास्तविकता बुझ्दै जाने क्रममा प्रहरीले नख्खु खोलामा हड्डी तथा छाला जलाउँदै गरेको अवस्थामा फेसल मुस्लिम, साजित मुस्लिम र रजिश शेर्पालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए ।

उनले त्यही जलाइएको गन्ध राति फैलिएको पनि बताए । उनीहरुमाथि वातावरण प्रदूषण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।