महरा धरौटीमा छुटेनन्, पुर्पक्षका लागि कारागार चलान

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १८ कार्तिक ।

जिल्ला अदालत काठमाडौंले पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।

आइतबार र सोमबार दुई दिन चलेको थुनछेक बहसपछि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । आदेश पछि महरालाई डिल्लीबजार कारागारमा पठाइनेछ ।

मुलुकी फौजदारी संहिताको दफा ८० बमोजिम महरालाई जेल चलानको आदेश भएको हो । जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले दफा ८० बमोजिमको थुनुवा पुर्जी दिएर पछि ठहरे बमोजिम हुने गरी थुनामा पठाइएको जानकारी दिए । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले यस्तो आदेश दिएको हो ।

१९ असोजमा पक्राउ परेका महरा अब अदालतको फैसला नआएसम्म कारागारमै बस्नेछन् । फैसलाले दोषी ठहर्याए थप सजाय भोग्नेछन्।

मुलुकी अपराध संहिताको दफा २१९ (३) अनुसार १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम सातदेखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ । महराको हकमा करणी प्रयास उद्योगमा मुद्दा दर्ता गरिएकाले उक्त सजायको आधामात्र माग दाबी गरिएको छ । जसअनुसार साढे सात वर्षसम्म कैद दाबी गरिएको छ ।

उनीमाथि सार्वजनिक पद धारण गरेको व्यक्तिले कसुर गरेकाले अभियोगपत्रमा थप डेढी सजाय माग गरिएको छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १५ (२) को (ङ) अनुसारको सजाय दाबी गरिएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।