तरुण नेतालाई पेस्तोल राखेर फसाउन खोजेपछि रिसाए जितजंग, तत्काल छानविन गर्न माग

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ कार्तिक ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बाँके प्रहरीको ज्यादतीको विरोध गरेका छन् ।

अध्यक्ष बस्नेतले शुक्रबार विज्ञप्ति जारी गरेर नेपाल तरुण दल नेपालगञ्ज नगरका सभापति सन्दीपजंग शाहसहित छ जनालाई प्रहरीले विनाकारण पक्राउ गरेको आरोप लगाएका छन् । हतियारको बहाना बनाइ प्रहरीले तरुण नेताहरूलाई पक्राउ गरिएकोमा विरोध जनाएका छन् ।

नेपाल तरुण दलका अध्यक्ष बस्नेतले घटनाको सत्यतथ्य छानविनको माग गर्दै बरामद भएको भनिएको पेस्तोलमा कसको फिङ्गर प्रिन्ट छ त्यसको परीक्षणको पनि माग गरेका छन् ।

‘प्रहरीद्वारा आफैले लगेको हतियार तरुण नेता सन्दीपजंग शाहको गाडीबाट बरामद भएको भनि झुठा बहाना बनाइ फसाउने र सामाजिक आतंक सिर्जना गर्ने र लोकतन्त्रवादी तरुणहरूलाई दुःख दिने कुत्सीत एवम् दुरासययुक्त नियतले पक्राउ गरिएका सन्दीपजंग शाहलगायतलाई तत्काल रिहा गर्न टनाको स्थलमा पुगी निर्दोष तरुण नेतालाई पक्राउ गरी फसाउन भुठा प्रपञ्च रच्ने षड्यन्त्रकारी प्रहरीहरूलाई हदैसम्मको कारबाही गर्न र बरामद गरिएको भनिएको हतियारमा फिङ्गर प्रिन्ट तत्काल जाँच गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल तरुण दलको जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘हाम्रो सदासयता र धैर्यतालाई बेवास्ता गरिएमा वर्तमान सरकार र यसका मतियारहरूलाई यसको गम्भीर मूल्य चुउकाउनुपर्नेमा चेतावनी दिन चाहन्छौँ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

‘शान्तिपूर्ण रुपमा आफ्नो घरायसी छलफलमा रहेकै अवस्थामा आततायी सरकारका अराजक प्रवृत्तिका प्रहरीद्वारा नमस्ते भिलेज रिसोर्ट कोहलपुरबाट बिहीबार राति साढे ८ बजे अमर्यादित र अमानवीय ढंगबाट पक्राउ गरिएको घटनाले नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानकर्षण भएको छ’, तरुण दलका अध्यक्ष बस्नेतले भनेका छन् ।

‘लोकतन्त्रवादी तरुणहरूलाई विभिन्न झुठा बहानामा पक्राउ गरी फसाउने र दुःख दिने वर्तमान फासिष्ट कम्युनिस्ट सरकार र यसका भ्रष्ट प्रहरीको निरन्तरता स्वरुप भएको तरुण नेता सन्दीपजंग शाह लगायतको पक्राउको घटनाको नेपाल तरुण दल केन्द्रीय समिति घोर निन्दा र भर्त्सना गर्दछ’, तरुण दलले भनेको छ ।

प्रहरीले बिहीबार राति साढे आठ बजे नेपालगञ्जको नमस्ते भिलेज रिसोर्टबाट नेपाल तरुण दलका अध्यक्ष सन्दीपजंग शाह, दिनेशकुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली र यमबहादुर बुढा मगरलाई पक्राउ गरेको थियो ।

प्रहरीले अध्यक्ष शाहको बा १८ च ४२११ नम्बरको गाडीबाट मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल थान १, लोड भएको गोली २ राउण्ड र म्याग्जिन २ थान बरामद गरेको विज्ञप्तिमा जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त कारको सिट मुनी लुकाई छिपाई राखेको अवस्थामा हतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।