फलोअप : चौरसियाको हत्या गर्न भारतीय ‘सार्प-सुटर’लाई ‘सुपारी’

हाम्रो सन्देश संवाददाता

वीरगंज, १६ कार्तिक ।

गत कात्तिक ८ गते मृत फेला परेका वीरगंज महानगरका अग्नि नियन्त्रक बुनिलाल चौरसियाको हत्यामा अग्रवाल दम्पत्तीको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ।

प्रहरी स्रोतका अनुसार वीरगंज माइस्थानका व्यवसायी दीपककिशोर अग्रवाल र उनकी श्रीमती निधी अग्रवालको योजनामा चौरसियाको हत्या भएको प्रारम्भीक अनुसन्धानले देखाएको छ।

‘अनुसन्धान चलिरहेको छ, हिजै ९ दिनका लागि दुवैको म्याद थप भएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘चौरसियाको हत्यामा अग्रवाल दम्पतीको संलग्नता चाहिँ निश्चित भइसकेको छ।’

हत्या किन गराइयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको स्रोतले बताएको छ। हत्यामा संलग्न अन्य अभियुक्तलाई नियन्त्रणमा लिन पर्सा प्रहरीको प्रयास जारी छ। एक साताभित्र सबै अनुसन्धान पूरा हुने प्रहरीको दाबी छ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दीपक र उनकी पत्नी निधी अग्रवाललाई कात्तिक ८ गते बेलुका पक्राउ गरिसकेको छ। भारतको झारखण्डमा माइती रहेको निधीले त्यहीका ‘सार्प-सुटर’को प्रयोग गरेर हत्या गराएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको स्रोतले जनाएको छ। प्रहरी स्रोतका अनुसार त्यहाँ उपलब्ध सिसिटिभी फुटेजबाट हत्यामा घर परिवारबाहेक अपरिचित चारजनाको संलग्नता रहेको देखिएको छ।

सिसिटिभी फुटेजमा घरभित्र अपरिचित चारजना प्रवेश गरेको, अबेर रातिसम्म उनीहरू ननिस्केको र राति ११ बजेपछि शवलाई घिसार्दै गाडीमा हालेको देखिएको छ। सिसिटिभीबाट गाडीको नम्बर भने पुष्टि हुन नसकेको बताइएको छ।

वीरगंज–१६ नगवा निवासी बुनिलाल चौरसिया कात्तिक ८ गते माइधिया पोखरीको डिलमा मृत फेला परेका थिए। त्यसको अघिल्लो रात उनी अग्रवाल दम्पत्तीको घरको ऋणको ब्याज रकम लिन गएका थिए। उनको शव प्लाष्टिको पोकोमा फेला परेको थियो। पोस्टमार्टममा उनको शरीरबाट ५ वटा गोली निकालिएको थियो।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।