प्रधानमन्त्री ओलीको स्वास्थ्य : धपेडीले ज्वरो, ज्वरोले मृगौलामा असर

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ कार्तिक ।

हिजो बुधबार बिहान स्वास्थ्य अवस्था असहज हुँदै ज्वरो समेत आएपछि धापासीस्थित ग्रयाण्डी ईन्टरनेशनल अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप दुई चरणमा डायलाइसिस गर्नुपर्ने भएको छ ।

हिजो अपरान्ह एक चरणको डाइलाइसिस गरेपछि प्रधानमन्त्री ओलीलाई आज थप दुई चरणको डायलाईसिस गराउने तयारी भईरहेको छ ।

अस्पतालका मेडिकल डाईरेक्टर चक्रराज पाण्डे,प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा दिव्यासिंह शाह र बरिष्ठ डा. अरुण सायमीसहितको चिकित्सकहरुको टिमले प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षण गरिरहेको छ ।

अस्पतालको १४ औं तलामा विशेष सतर्कताका साथ प्रधानमन्त्री ओलीको उपचार भईरहेको छ । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको धपेडी ज्यादा हुँदा ज्वरो आएको र ज्वरोको कारणले मृगौलामा समस्या देखिएको बताएका छन् । जसका कारणले डायलाईसिस गर्न परको हो ।

बुधवार पहिलो पटक डायलाइसिस गर्दासम्म प्रम ओलीको स्वास्थ्यमा समस्याका केही विशेष नदेखिएपछि केहीबेर आईसीयुमा राखिएको थियो । तर साँझ भने क्याबिनमा ल्याइएका प्रम ओली अहिले सोफामा बसेर सामान्य कुराकानी गर्नसक्ने अवस्थामा छन् ।

प्रम ओलीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेको रिपोर्टपछि तत्काल उनको डायलासिस गरिएको थियो । पिसाब राम्ररी हुन नसक्दा प्रमको शरीरमा पानीको मात्रा पनि धेरै रहेको चिकित्सकको अनुमान छ ।

यसले श्वासप्रश्वासमा कठिनाइ ल्याउनुका साथै रगतमा पोटासियमको मात्रा धेरै भएमा मुटु ‘ब्लक’ हुने सम्भावनालाई पनि बढाउँछ । विहीवार गरिने दोस्रो पटकको डायलाइसिसले रगतमा बढेको हानिकारक तत्व कम गराउने र प्रमको स्वास्थ्य अझै सहज हुनजाने चिकित्सकहरुको अनुमान छ ।

प्रम ओलीको गत साउन १८ देखि २७ सम्म नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसबेला प्रमको शरीरमा ‘एन्टीबडी’ को मात्रा अत्यधिक देखिएपछि प्लाज्माफेरेसिस प्रक्रियाका लागि सिंगापुरमा गएका थिए ।

प्रम ओलीले मृगौला प्रत्यारोपण गरेको १२ वर्षभन्दा बढी भैसकेको छ । यस्तो अवस्थामा यी समस्याहरु देखिनु स्वाभाविक भएको चिकित्सकहरु बताउँछन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।