प्रधानमन्त्रीको आज पनि डायलासिस गरिदै, अब २ विकल्प मात्र बाँकि

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ कार्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बिहिबार दोस्रो पटक मिर्गौलाको डायलासिस गरिने भएको छ । बुधबार बिहान ९ बजे ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार पनि डायलासिस गरिएको थियो ।

प्रधानमन्त्रीको ओलीको उपचारमा संलग्न चिकित्सतका अनुसार उनको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो। उनको पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको छ। चिकित्सकका अनुसार शरीरमा पानीको मात्रा धेरै भएपछि श्वासप्रश्वासमा कठिनाइ हुन्छ भने रगतमा पोटासियमको मात्रा धेरै बढ्यो भने मुटु ‘ब्लक’ हुने सम्भावना हुन्छ। स्वस्थ मिर्गौलाले रगतमा रहेका हानिकारक तत्व छान्ने काम गर्छ। बिरामी मिर्गौलाले छान्ने काम गर्न सक्दैन। त्यसैले पानी वा रगत हालेर डायलासिस मार्फत् रगतको विकार सफा गरिन्छ।

दोस्रो डायलाइसिसले रगतमा रहेको हानिकारक तत्व थप कम गराउने बताईएको छ । त्यसपछि भने प्रधानमन्त्रीलाई डिस्चार्ज गरिने अस्पताल स्रोतले जनाएको छ।

मिर्गौला रोग विशेषज्ञका अनुसार अब प्रधानमन्त्रीले नियमित डायलासिस वा मिर्गौला नै प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ । मिर्गौला डायलासिस प्रक्रिया थालिएपछि नियमित रुपमा सातामा तीनपटक डायलासिस गर्नुपर्ने मिर्गौलारोग विशेषज्ञ बताउँछन् ।

अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नेफ्रोलोजी अध्यक्ष एवं प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले जारी गरेको प्रेस बिज्ञप्तीमा मिर्गौलाको डायलासिसबारे केहि उल्लेख छैन। प्रधानमन्त्री ओली अस्पतालमा भर्ना हुँदै गर्दा उनको उनको सचिवालय टीमका सदस्यहरुले नियमित चेकजाँच गरेर अस्पतालबाट प्रधानमन्त्री र्फकन लागेको सञ्चारमाध्यमलाई बताएका थिए।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।