कसुर प्रमाणित भए आलमलाई जन्मकैद, तीन कसुर, कुनमा के सजाय ?

हाम्रो सन्देश संवाददाता

रौतहट, १४ कार्तिक ।

सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध लागेको सामूहिक नरसंहारको कसुर प्रमाणित भए जन्मकैदसम्मको सजाय हुने भएको छ ।

ज्यानसम्बन्धी मुद्दा प्रमाणित भए जन्मकैद, ज्यान मार्ने उद्योगको कसुर प्रमाणित भए १० वर्ष कैद हुनेछ । उनीविरुद्ध रौतहट प्रहरीले यी दुई र विस्फोटक पदार्थसम्बन्धी कसुर गरी तीन मुद्दा दायर गरेको छ ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १७७ को उपदफा २ अनुसार कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गरे वा गराए कसुरदारविरुद्ध जन्मकैद हुने व्यवस्था छ । दफा १७७ मा लेखिएको छ, ‘कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन । कसुर गर्ने वा गराउने व्यक्तिलाई जन्मकैदको सजाय हुनेछ ।’

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १८३ अनुसार कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गरे कसुर गर्ने वा गराउने व्यक्तिलाई १० वर्ष कैद र एक लाख जरिवाना हुनेछ ।

आलमविरुद्ध रौतहट सरुअठा–२ का श्रीनारायण सिंह र सरुअठा–४ की रुक्साना खातुनले ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएका छन् भने सर्लाहीका सफी मोहम्मदले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । श्रीनारायण रौतहट विस्फोटमा घाइते भएर जिउँदै जलाइएका त्रिलोकप्रताप सिंह (पिन्टु) का बुबा हुन् ।

रुक्साना सोही घटनामा मारिएका ओसी अख्तरकी आमा हन् । सफी विस्फोटमा घाइते भएर बाँचेका जीवित प्रमाण हुन्, जो हाल प्रहरी नियन्त्रणमा छन् । यही घटनालाई लिएर रुक्सानाको पनि हत्या भइसकेको छ । त्यस्तै, आलमविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले विस्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ ।

पहिलो संविधानसभा निर्वाचनमा रौतहट–२ बाट कांग्रेस उम्मेदवार बनेका आलमले परिस्थिति आतंकित पारेर चुनाव जित्न भारतबाट प्राविधिक बोलाएर बम बनाउन लगाएका थिए ।

चुनावको अघिल्लो दिन २७ चैतको साँझ राजपुर फरहदवास्थित शेख इद्रिसको घरमा बम बनाउँदै गर्दा विस्फोट भएर दुई नेपाली युवा ओसी र पिन्टुसहित केही भारतीय घाइते भएका थिए भने केहीको मृत्यु भएको थियो ।

घाइते र मृतक सबैलाई इँटाभट्टामा हालेर जलाएको पीडितहरूको आरोप छ । ओसी र पिन्टुलाई आलमले चुनाव प्रचारप्रसारका लागि भन्दै उनीहरूकै घरबाट लगेका थिए । घटनापछि प्रहरीले अनुसन्धान नै नगर्दा विस्फोटमा मारिएकाको यकिन संख्या अहिलेसम्म खुल्न सकेको छैन ।

आलमविरुद्ध तीन कसुर, कुनमा के सजाय ?
१) ज्यानसम्बन्धी कसुर
नियतपूर्वक कसैले कसैको ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउनुहुँदैन । निजको ज्यान मर्न सक्ने गरी नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पु¥याएकोमा तत्कालै ज्यान नगई सोही चोटका कारण पछि ज्यान गएमा पनि उसैले ज्यान मारेको मानिने छ । यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई जन्मकैद सजाय हुनेछ (मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १७७) ।
२) ज्यान मार्ने उद्योग कसुर
कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्नुहुँदैन । यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँँँसम्म जरिवाना हुनेछ (मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १८३) ।
३) विस्फोटक पदार्थसम्बन्धी कसुर
कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका सर्त र बन्देजविपरीत विस्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्नुहुँदैन ।

कडा विस्फोटक पदार्थ भए १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना तथा नरम विस्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुनेछ । त्यस्तै, सामान्य विस्फोटक पदार्थ भए तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना सजाय हुनेछ (मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १३८) ।
आलम मुद्दामा यस्तो छ प्रहरीको मिसिल
अफ्ताबका वकिलहरूले २७ चैत ०६४ मा बम विस्फोट नै नभएको दाबी गर्दै आएका छन् । तर, प्रहरीले बम विस्फोटको घटना देख्ने प्रत्यक्षदर्शी समसुल मियाँसँग प्रमाण लिएको छ । विस्फोटकै राति तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदीको कमान्डमा घटनास्थलमा खटिएका सुरक्षाकर्मीसँग बयान लिएको छ ।

घटनामा घाइते भएका सर्लाहीका सफी मोहम्मदसँग पनि बयान लिएको छ । फरेन्सिक रिपोर्टले पनि सफीको छाती र पेटको घाउ बम विस्फोटबाटै भएको प्रमाणित गरेको छ । त्यसवेला सफीले उपचार गरेको भारतको बिहारस्थित अस्पतालबाट पनि रिपोर्ट ल्याएको छ ।

अफ्ताबका वलिकहरूले इँटाभट्टामा लगेर कसैको शव दहन नगरिएको दाबी गरेका छन् । तर, विस्फोटमा परी घाइते भएकालाई इँटाभट्टमा लान प्रयोग गरिएको ट्याक्टर प्रहरीले फेला पारेको छ । उक्त ट्र्याक्टर अफ्ताबका भाइ महताब आलमको नाममा दर्ता भएको प्रमाणसमेत भेटाएको छ ।

विस्फोटमा मारिएका भनिएका त्रिलोकप्रताप सिंह (पिन्टु) र ओसी अख्तर बेपत्ता भएको र अफ्ताबले नचिन्ने उनका वकिलहरूको दाबी छ । तर, रौतहटस्थित यमुनामाई गाउँपालिकाले त्रिलोक र ओसी दुवैको मृत्यु भएको प्रमाणित गरिसकेको छ ।

यमुनामाई गाउँपालिकाले जारी गरेको मृत्यु दर्ता प्रमाणपत्रमा उनीहरूको मृत्यु २७ चैत ०६४ मा रौतहट फरहदवा–४ मै भएको उल्लेख छ । मृत्यु हुनुअघि उनीहरूलाई घाइते अवस्थामा देख्ने प्रत्यक्षदर्शीलाई समेत भेटेर प्रहरीले बयान लिएको छ ।

घटना भएको प्रमाणित भएको छ, दसीप्रमाण भेटिएका छन्
एसपी भूपेन्द्र खत्री
प्रमखु, जिल्ला प्रहरी कार्यालय रौतहट
प्रहरीले अनुसन्धान गर्दै छ । प्रमाण भेटिएका छन् । घटना भएको प्रमाणित भएको छ । दसीप्रमाण पनि भेटिएका छन् । घटनाका घाइते र प्रत्यक्षदर्शीसँग बयान भइसकेको छ ।

त्यतिवेला त्यहाँ खटिएको सुरक्षाकर्मीलाई पनि हामीले भेट्यौं । सबै प्रमाण जुटाउँदा घटना भएको पुष्टि हुन्छ । अझै अनुसन्धानको समय थप भएको छ । थप प्रमाण जुटाएर मुद्दा झन् कसिलो बनाउने छौं । नयाँ पत्रिका दैनिकबाट

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।