चक्कु देखाउँदै बलात्कार गरेको आरोपमा आरआर कलेजका विद्यार्थी नेता पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ असोज ।

प्रहरी बलात्कार गरेको आरोपमा रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई पक्राउ गरेको छ ।राई आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य हुन् । उनी वीएड् तेस्रो वर्षमा अध्ययरत् छन् ।महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले उनलाई मंगलबार विहान ६ बजे पक्राउ गरेको हो ।

पीडितले दिएको किटानी जाहेरीको आधारमा राईलाई पक्राउ गरिएको बौद्धका डीएसपी रमेशबहादुर सिंहले पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘अहिले हिरासतमा राखेका छौं । अदालत खुलेपछि जबरजस्तीकरणी सम्बन्धी कसूरमा म्याद थप्छौं ।’पीडितका अनुसार राईले देउसी खेल्न भनेर बोलाएर माकलबारीमा उनीमाथि जबरजस्तीकरणी गरेका थिए ।

उनको सोमबारै थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण गरिसकिएको छ । यद्यपि, रिपोर्ट आइसकेको छैन । अपरान्ह करिब ३ः३० बजे राईले उनका आफन्तको कोठामा कोही नभएको वेला लगेर जबरजस्ती गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । उनले हात बाँधेर चक्कु देखाउँदै बलात्कार गरेको पीडितको बयान छ । अनुसन्धान अधिकृतका अनुसार, पीडितकी दिदी राईका साथी हुन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।