भायनेटको डाटा ह्याक गरेर लीक गर्ने ह्याकर ९ महिनापछि पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ पुस ।

भायनेट कम्युनिकेसन्स प्राइभेट लिमिटेडको डाटा ह्याक गर्ने ह्याकरलाई साईबर ब्यूरोले पक्राउ गरेको छ । सो कम्पनीको संयन्त्रमा अनधिकृत पहुँच राखी सामाजिक सन्जालमा राख्ने एक किशोरलाई नेपाल प्रहरीको साईबर ब्यूरोले पक्राउ गरेको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ बस्ने करिब १७/१८ वर्षका किशोरलाई सोमबार बुटवलबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले ‘नरपिचास’ नामबाट भायनेटको विद्युतीय संयन्त्रमा पहुँच राखी डाटा ब्रिच गरी ट्विटर ह्यान्डल लगायत फेसबुक, इन्स्टाग्राम समेतको माध्यमबाट स्क्रिप्ट सार्वजनिक गरेका थिए ।

उनले विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेको भन्दै जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय बुटवलसमेतको सहयोगमा पक्राउ गरिएको साइबर व्यूरोका प्रवक्ता एवम प्रहरी बरिष्ठ उपरीक्षक नबिन्द्र अर्यालले जानकारी दिए ।

प्रहरीले भायनेट ह्याक भएको करिब ९ महिनापछि सो ह्याकरलाई पक्राउ गरेको हो ।

गत वर्ष २०७६ साल चैतमा कम्पनीका ५० हजार भन्दा बढि डाटाहरु सिस्टमबाट ह्याक गरि सार्वजनिक गरिएका थिए । लीक भएका ग्राहकहरुको डाटाहरुमा ईमेल, फोन नम्बर र ठेगानाहरु रहेका थिए ।