भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,७ कात्तिक ।

सरकारले भाइटीकाको भोलिपल्ट अर्थात् १३ कात्तिकमा पनि सार्वजनिक बिदा दिने भएको छ । १३ कात्तिकमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले स्राेतले जनाएकाे छ । मन्त्रालयले केहीबेरमा विज्ञप्ति निकालेर यसबारे आधिकारिक जानकारी दिने भएको छ ।

सरकारी क्यालेण्डरमा १३ कात्तिकमा बिदा उल्लेख नभएकाले मन्त्रिपरिषदबाटै निर्णय गराएर बिदाको घोषणा गरिएको मन्त्रालयले जनाएको छ ।

नेवारी समुदायको भाइटीका १३ कात्तिकमा पनि पर्ने भएकाले त्यस दिन बिदा दिन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ३ कात्तिकमा एउटा टोलीले ज्ञापनपत्र बुझाएको थियो । डेलिगेसन टोलीलाई ओलीले मन्त्रिपरिषद्बाट निर्णय गराएर बिदा दिन आफू सकारात्मक बनेको बताएका थिए ।

पञ्चाङ्ग निर्णायक समितिले तिहारमा कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिन सरकारलाई सुझाएको थियो । सोहीअनुसार क्यालेन्डर तयार गरिएको थियो । तर, संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश ३ का सांसदहरू डा. अजयक्रान्ति शाक्य, राजेश शाक्य, काठमाडौं महानगरपालिका–२२ का वडा अध्यक्ष चिनकाजी महर्जनलगायतको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर १३ कात्तिकमा पनि बिदा दिन आग्रह गरेको थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।