कविता – ऎनाको जिन्दगी ।

हाम्रो सन्देश संवाददाता

पथ्थरको शहर बोकेर
आएको छ एकाबिहानै
एउटा सुदुर जिन्दगी
भोकहरुको आँखामा इन्द्रेणी सपना
सजाएर उक्लिएको छ
सपनै सपनाको एउटा सिङ्गो पहाड
जहाँ लालिगुरासका राता ओठहरुमा
फुलेको थियो एक सिन्दुर मुस्कान
जहाँ हरियो आमाको पटुकी फाटहरुमा
सजियको थियो घाँसहरुको पुनर्जन्म
जहाँ मुस्कुराइरहेको थियो
प्रियसीको अनुहार जस्तो चन्द्रमा – फूलहरुको अन्दाजमा

हो त्यतिबेला उस्ले देखेको हो सिक्काको अर्को
पाटो जस्तो जिन्दगी
पहाडको छातीमा बल्झिरहेको एक मुठ्ठी स्वास
लेख्दा लेख्दै छोडिएको एक मुटु कविता
काट्दा काट्दै बोधो भएको खुकुरी झैँ जीवन
बासबस्न निस्किएको कुखुरा जस्तो अल्छिघाम
वादलजस्तो हलुको डाफेनाच
र हवामा उडिरहेका सिमलका भुवाजस्ता सपना

हो त्यतिबेला हो ऊँ ब्युझिएको
कुम्भकर्ण जस्तो अध्यारो निन्द्राबाट …..

अभावहरुको अभावमा जुटेका
बैशाखी खुट्टाहरुमा काँडाका बाटाहरु
कति लामा छन् बाबा ?
अनि भन्नुस् आमा यो पत्थरको सहरमा
ऎनाको जिन्दगी कतिदिन बाँचीरहला ?
म जान्न चाहन्छु
के श्वास फेर्नु भनेको नै बाँच्नु हो त आमा ?

– सन्तोष अधिकारी ।
पोखरा- कास्की ।
9851092871