इन्धनको मूल्य बृद्धिको विरोधमा प्रदर्शन, ६ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० असोज ।

इक्वेडरमा इन्धनको मूल्य वृद्धिको विरोधमा करिब १० दिन अघिबाट शुरू भएको हिंसात्मक झडपमा छ जनाको मृत्यु भएको छ ।

प्रदर्शनमा १ हजार ५०७ व्यक्ति घाइते भएका त्यहाँको सरकारले मङ्गलबार जानकारी दिएको छ । यस्तै, प्रदर्शनको क्रममा १ हजार ३३० व्यक्ति पक्राउ परेका गृह मन्त्री मारिया पउला रोमोले बताए ।

गत अक्टोबर १ मा राष्ट्रपति लेनिन मोरेनोले इन्धनको लागतलाई कम गर्दै सरकारी अनुदान अन्त्य गर्ने घोषणा गरेका थिए । जसको कारण १२३ प्रतिशतसम्म इन्धनको मूल्य वृद्धि हुने भएको थियो ।

यो उपाय अन्तरर्राष्ट्रिय मुद्रा कोषमा सहमति भएका सुधारमध्येको एक हो । जसले इक्वेडरलाई ४.२ अर्ब डलर क्रृण लिन मद्दत पुर्याउँछ ।

सरकारी मुख्यालय नजिकै रहेको क्विटोको ऐतिहासिक केन्द्रमा आदिवासी समूह, किसान, विद्यार्थी र मजदुर युनियनको प्रतिनिधित्व गर्ने हजारौं व्यक्तिले प्रदर्शन जारी राखेका थिए ।

यस विरोध प्रदर्शनको क्रममा पक्राउ परेकामा ५७ जना विदेशी नागरिकहरू रहेका जसमध्ये धेरैलाई २४ घण्टा भित्र रिहा गरिएको मन्त्रीले जानकारी दिएका थिए ।

प्रदर्शनपछि १ हजार ५०७ जना सार्वजनिक स्वास्थ्य केन्द्रमा उपचार गरेका बताइएको छ । ती मध्ये ४ सय ३५ जना प्रहरी अधिकारीहरू समेत रहेका जनाइएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...