नेकपाभित्र सभामुखको बहस, सभामुखको दौडमा को–को छन् नेताहरु ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ असोज ।

कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएसँगै सभामुख कसलाई बनाउने भन्ने बारे सत्तारुढ नेकपाभित्र बहस चिर्कदैं गएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको आगमनसँगै ओझेलमा परेको सभामुखबारेको बहस पुनः सुरु भएको हो । यस विषयमा सत्तारुढ दल नेकपाले औपचारिकरुपमा मुख नखोलेपनि पद हत्याउनकोलागि भित्रभित्रै पूर्व एमाले र पूर्व माओवादीबीच तिव्र प्रतिस्पर्धा सुरु भएको बताइन्छ ।

संविधानतः सभामुख र उपसभामुख पद फरक दल र लिंगको हुनुपर्ने व्यवस्था भएको कारण पनि नेकपाले दुई मध्ये एक पद छाड्नु पर्नेछ । तर, उपसभामुख पनि सत्तारुढ दलकै भएको कारण नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजिनामा दिन लगाएरै भए पनि सभामुख पद आफै राख्ने रणनीतिमा रहेको बताइन्छ ।

संवैधानिक व्यवस्थाका कारण नेकपा समस्यामा

झण्डै दुई तिहाइ बहुमत रहेको नेकपाले सभामुख पाउने कुरामा कुनै द्विविधा नभएपनि संवैधानिक व्यवस्थाका कारण नेकपा समस्यामा परेको हो । संविधानमा सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने व्यवस्था छ । अहिले उपसभामुख पनि नेकपाबाटै छन् ।

संविधानमा सभामुख र उपसभामुख फरक दल मात्रै नभई फरक लिंगको पनि हुनुपर्ने व्यवस्था छ । नेपालको संविधानको धारा ९१ (२)मा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने व्यवस्था छ ।

संवैधानिक व्यवस्था बाध्यकारी भएको कारण नेकपाले उपसभामुख पदलाई छोडेर भएपनि सभामुख पद लिने रणनीतिमा छ । स्रोतले जनाएअनुसार नेकपाभित्र उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई राजीनामा दिन लगाई सभामुख पद दाबी गर्ने छलफल अन्तिम चरणमा पुगेको छ ।

पूर्वमाओवादी पक्षको दावी

सभामुख पद रिक्त भएसँगै नेकपाभित्र चलेको वहसमा पूर्वमाओवादी पक्षले आफ्नो दाबी अगाडि सारेको छ । विगतमा पूर्वमाओवादीकै तर्फबाट कृष्णबहादुर महराले सभामुख पद पाएकाले अब पनि उक्त पद पूर्वमाओवादी पक्षले नै पाउनुपर्ने दाबी छ । पार्टी एकतापश्चात कार्यकारी भूमिकाका धेरै पद पूर्वएमालेले पाएको हुँदा सभामुख माओवादी पक्षले पाउनुपर्ने पूर्वमाओवादी खेमाको सर्त छ ।

पूर्वएमाले पक्षधर भने पार्टी एक भईसकेकाले पद कुन खेमाले पाउने भन्ने बहस अनुपयुक्त भएको भन्दै अडान लिन थालेका छन् । पूर्वएमाले खेमा पूर्वसभामुखसमेत रहेका सुभाषचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् । नेम्वाङको नाममा सहमति जुट्न नसके शिवमायालाई बनाउने उनिहरुको चाहना छ ।

को–को छन् पूर्वमाओवादी खेमाबाट ?

सभामुख पदको लागि पूर्वमाओवादीबाट ओनसरी घर्ती, जयपुरी घर्ती र देव गुरुङ्गको नाम बढि चर्चामा छ । पूर्वसभामुखसमेत रहेकी ओनसरी घर्तीले पदको लागि आफुँ सबैभन्दा उपयुक्त उम्मेदवार भएको बताउने गरेकी छिन् । यता नेकपाका प्रमुख सचेतकसमेत रहेका देव गुरुङ्गको चर्चा पनि निकै चलेको छ । नेकपाका एक नेताले बताएअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि देव गुरुङ्गको नाममा सकारात्मक छन् ।

पूर्वमाओवादी पक्षबाट आधा दर्जनजतिले सभामुख पदमा आफ्नो इच्चा देखाएका छन् । अग्नि सापकोटा, देवेन्द्र पौडेल, हरिबोल गजुरेल र टोपबहादुर रायमाझीले पनि सभामुख पदको लागि पार्टीभित्र लबिङ्ग गरिरहेको जनाइएको छ । नेकपाका प्रभावशाली नेता जर्नादन शर्मा ‘प्रभाकर’ ले सभामुखको लागि इच्छा देखाएको बताइएको छ । सफल मन्त्रीका रुपमा चर्चा कमाएका प्रभाकरबारे नेकपाभित्र धेरै नेताहरु पनि सकारात्मक रहेको बताइएको छ ।

सरकारको गठबन्धन टिकाउन समाजवादीलाई उपसभामुख

संवैधानिक प्रावधान अनुसार सभामुख र उपसभामुख एउटै पार्टीले राख्न नपाउने संवैधानिक व्यवस्थाका कारण सत्तारुढ नेकपाले उपसभामुख पद छोडेर सभामुख पद लिने आन्तरिक निर्णयमा पुगेको बताईएको छ । नेकपाले उपसभामुख पद समाजवादी पार्टीलाई दिएर सभामुख आफुँले राख्ने तयारी पनि थालेको स्रोतले जनाएको छ । स्रोतले जनाएअनुसार सरकारमा सँगै रहेको समाजवादी पार्टीलाई नबिच्काउन नेकपाले उपसभामुखको अफर गर्न लागेका हो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।