नेकपा सचिवालय बैठक आज , को बन्छ सभामुख ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ असोज ।

आज विहान भएको अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलले नेकपा सचिवालयको बैठक भोलि अपरान्ह बस्ने तय गरेको छ ।

स्रोतकाअनुसार ओली र दाहालबीच आज लामै छलफल भएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमण सफलतापूर्वक सम्पन्न भएको पनि अध्यक्षद्धयले निश्कर्ष निकालेका छन् ।

भोलि बस्ने सचिवालय बैठकमा सीको नेपाल भ्रमणको समिक्षा, पार्टी एकताका बाँकी काम र सभामुखका निर्वाचन लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

भोलि बस्ने सचिवालय बैठकमा प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्नेबारे पनि छलफल हुने बुझिएको छ । यौन दुव्र्यवहारको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रहरी हिरासतमा छन् । नेकपाले सभामुख नछोड्ने भएको छ । अहिले नेकपाकै तर्फबाट डा. शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन् ।

उनलाई राजीनामा गर्न लगाएर नेकपाले सभामुखमा उम्मेद्धवारी दिने तयारी गरेको छ । स्रोतकाअनुसार सभामुखमा नेकपाले सुवासचन्द्र नेम्वाङ, देव प्रसाद गुरुङ, ओनसरी घर्तीमगर र टोपबहादुर रायमाझी मध्ये एक जनालाई अघि सार्ने बुझिएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।