फिल्म ‘छ माया छपक्कै’: नाम बदलियो, पारा उही जस्ताको तेस्तै

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

दसैं लागेलगत्तै फिल्म ‘छ माया छपक्कै’ रिलिज गर्न नपाउँदा रिसाएका दीपक– दीपा टिमले फिल्मप्रति दर्शकको ध्यान तान्न निक्कै कसरत गरे । टे«लर जारी गरेपछि राम्रो प्रतिक्रिया आएन । अनि जानजान विवादित शब्द राखेर तिजे गीतको रिमेक गरे पनि गाली खाए । आफूमाथि राजनीति गरेको भन्दै हल सञ्चालकलाई गर्नसम्म गाली गरे ।

फिल्म रिलिज भएको पहिलो दिनको ओपनिङ राम्रो भएपछि अहिले उनीहरु शान्त छन् । उनीहरुले चाहेजस्तो सबै हलमा एकछत्र फिल्म लगाउन नपाए पनि फिल्मको कलेक्सन राम्रो छ । ‘छक्का पञ्जा’को सिरिजमा समीक्षकहरुबाट टर्रो समीक्षा पाएका उनीहरुले यो फिल्मबाट मध्यमस्तरको प्रशंसा पाइरहेका छन् । समीक्षकप्रति सधैँ आगो ओकल्ने दीपक अहिले नरम देखिएका छन् । यो सकारात्मक नै हो ।

यसको कारण हो ‘खानेपानी अभाव, राजनीति र प्रेम सम्बन्धको उतारचढावलाई केन्द्रमा राखेर प्रस्तुत गरेको फिल्म ‘छ माया छपक्कै’ ‘छक्का पञ्जा’ सिरिजभन्दा केही सुधारिएर आउनु । गम्भीर विषयको उडन्ते प्रस्तुति र टेलिसिरियल ‘तीतो सत्य’को ह्याङबाट केही हदसम्म उनीहरु मुक्त देखिए ‘छ माया छपक्कै’मा । तर सुधार्नुपर्ने पाटाहरु भने टन्नै देखियो यसमा पनि ।

दर्शक हँसाउन छन्द मिलेका डायलगको प्याटर्नले दीपक–दीपा छक्कापञ्जाको ह्याङबाट मुक्त हुन सकेका छैनन् । फिल्मको मूल कथाभन्दा उपकथातिर बढी फोकस गर्दा फिल्म अल्मलिएको छ ।

फिल्मको मुलकथा पानीको राजनीति मान्ने हो भने फिल्मको कथावस्तुसँग फिल्मको टाइटल ‘छ माया छपक्कै’ समेत सुहाउँदैन । फिल्मको कथावस्तुसँग फिल्मको नामको सम्बन्ध नदेखिनुमा दीपक–दीपाको छ शब्द फाप्ने भ्रमले काम गरेको देखियो ।

यो फिल्मले दीपक–दीपा सुधारिएको देखियो तर यस अगाडि जातपातको विभेद र किसानको दुखमाथि फिल्म बनाएका निर्देशक दीपेन्द्र लामा विचलित भएको देखियो ‘छ माया छपक्कैमा ।’

फिल्मको कथा हो कचञ्चनपुरको गोदावरी गाविसको घडेरी गाउँ । गाउँमा ४५ सालको भूकम्पपछि सडक पुग्यो, बिजुली पुग्यो तर भूकम्पले पानीको मुहान सुकाइदियो । गाउँका दिदीबहिनी पानी थाप्नकै लागि सधैँ लामो बाटो हिँड्छन् । सबैलाई पानीकै पीर छ ।

गाउँका नेता बिपी (दीपकराज गिरी)‘कमरेड’लाई गाउँमा पानी ल्याउनु छ । बिपीका बुबा (प्रकाश घिमिरे) पनि चुनाव जितेर गाउँमा पानी ल्याउन चाहन्छन् । छिमेकी गाउँ टोड्केमा भने पानीको अभाव छैन तर त्यहाँ लोकतान्त्रिक मत राख्ने दल हावी छ । घडेरी गाउँमा कम्युनिस्ट विचारधारा राख्नेहरु बढी छन् ।

फरक राजनैतिक पार्टीको नेताकी छोरी जल (केकी अधिकारी)सँग बिपीको माया बस्छ । जल त्यही टोड्के गाउँकी हुन् । टोड्के गाउँ न नानी दिन तयार छ, न पानी । यही पानी र नानीकै लागि हुने उतारचढाव नै ‘छ माया छपक्कै’ को कथा हो ।

जलस्रोतमा धनी भनिए पनि खानेपानीको अभाव हाम्रो ठूलै समस्या हो । के सहरी क्षेत्र, के पहाडी ग्रामीण भेग अनि के समथर मधेस । सबैतिर उस्तै छ पानीको समस्या । अनि पानीको समस्यालाई लिएर हुने राजनीति पनि चर्कै छ यहाँ । काठमाडौंबासीमाझ भइरहेको मेलम्ची खानेपानीको राजनीति नै यसको बलियो उदाहरण हो । पानीको यही अभावमा भइरहेको राजनीतिलाई फिल्मले देखाउन खोजेको छ ।

भूकम्पपछि मज्जाले पानी आइरहेको पहाडी भूभागमा पानी सुकेर हैरान भएको गाउँ काल्पनिक हैन, वास्तविकै हो । त्यसैले विषयवस्तुको छनोट यथार्थपरक छ ।

तर, सान्दर्भिक विषय उठाए पनि फिल्मको कमजोर प्रस्तुतिले मुख्य विषय नै छरियो फिल्ममा । फिल्म कहिले प्रेमतिर केन्द्रित हुन्छ, कहिले राजनीतितिर । यसले निर्देशक मूल विषयको प्रस्तुतिमा अल्मलिएको प्रस्टै देखियो ।
पानीको अभावमा दुःख पाइरहेको गाउँलेको दृश्यले फिल्म हेर्ने दर्शकको मनमा करुणा उत्पन्न गर्न सक्दैन । न बिपी र जलको पर्दाको प्रेमले मन छुन सकेको छ । न सामाजिक समस्यालाई राजनीतिक हतियार बनाउने नेताप्रति आक्रोश नै जगाउन सक्छ फिल्मले । यसले स्क्रिप्टमा भएको कमजोरी छरपस्टै भयो हलमा ।

पानीमाथिको राजनीति र प्रेमको कथातिर ढल्कँदा फिल्मको केन्द्रीय द्वन्द्व नै अलमलमा परेको छ । क्लाइमेक्स पनि खास छैन ।

संवादमा ‘छक्का पञ्जा’बाट माथि उठ्न सकेको छैन ‘छ माया छपक्कै’ पनि । परिस्थिति भन्दा संवादबाटै जबरजस्ती हँसाउने प्रयास छाडेका छैनन् दीपक– दीपाले ।

राजनीतिक समस्या प्रस्तुत गर्नेक्रममा निर्देशक कम्युनिष्टवादप्रति नकारात्मक देखिएका छन् । कम्युनिष्ट भनेका अस्थिर, मौका परस्त र चन्दा संकलन गरेर आम नागरिकलाई दुख दिनेहरु हुन् भन्ने स्थापित गर्ने प्रयत्न गरेको छ फिल्मले ।

राजनीतिको निर्मम पाटो देखाउन निर्माण गरिएको गोली कान्छा (केदार घिमिरे)को गोली लागेको कथा दृश्यमा झर्कोलाग्दो छ । अभिनय सीपले गोली कान्छाले दर्शकलाई फिल्मको अन्त्यसम्म होल्ड भने गराइरहन्छ ।

प्रवीण (जितु नेपाल)को प्रेम नेपाली समाजमा सुनिरहेकै कथा हो । उनको कथाले होचो कद भएकाको प्रेमकथा कताकता भन्न खोजेको छ । फिल्मबाट उनको कथा हटाउने हो भने फिल्म अपुरो हुन्न । फिल्ममा एउटा दृश्य छ, पानीको लागि झाँक्रीले पूजा गरेको । उक्त दृश्य हुनु र नहुनुले मुख्य कथामा खास अर्थ राख्दैन । त्यस्तै बिपीले प्रेमकै खातिर पार्टी छाडेर अर्को पार्टीसँग मिल्न जाने दृश्य क्लिसे लाग्छ । शुक्रबार बाट

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...