महरा काण्डमा पूर्व सभामुख ओनसरी घर्तीको समेत नाम यसरि जोडिएपछि…..

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ असोज ।

कृष्णबहादुर महरा काण्डमा पूर्व सभामुख ओनसरी घर्तीको समेत नाम जोडिएपछि उनले त्यसवारे प्रतिकृया जनाएकी छन् । महरा र संसद सचिवालयमा कार्यरत कर्मचारी रोश्नी शाहीबीचको काण्डमा आफ्नो नाम अनावश्यक रुपमा मुछिएको भन्दै उनले आपत्ती जनाएकी छन्। पछिल्लो चरणमा सो घटनाबारे फरक–फरक खबरहरु सार्वजनिक भईरहेको र त्यसमा आफुलाई समेत जोडेपछि उनले आरोपहरुको खण्डन गरेकी हुन् । सामाजिक सञ्जालमा सो घटनालाई उचाल्न घर्ती पनि सहभागी भएको भन्दै समाचार बाहिरिएपछि उनले आपत्ती जनाएकी हुन्।

संचार माध्यमसँग कुरा गर्दै नेकपा प्रदेश ५ को अध्यक्ष समेत रहेकी पूर्वसभामुख घर्तीले भनिन्, ‘सो घटनाका विषयमा त्यतिबेला र अहिलेपनि मेरो सम्बन्धित व्यक्तिहरु कसैसंग पनि कुराकानी भएको छैन, हुँदै नभएको कुरालाई लिएर तत्कालिन नेकपा माओवादी केन्द्रबाट विचलित भएका नेता गोपाल किरातीले आधारहिन अफवाह फैल्याएको र सोही आरोपलाई आधार मानेर केही संचारमाध्यम समाचारको सामाग्री समेत बनाएको देख्दा मलाई दुख लागेको छ ।’ किरातीले सो घटना उचाल्न घर्तीको पनि भूमिका रहेको आरोप लगाउँदै सार्वजनिक अभिब्यक्ति दिएका थिए।

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री वर्षमान पुन र आफ्नो नाम समेत जोडर तत्कालिन सभामुख महराका विषयमा अनावश्यक टिप्पणी गरेको भन्दै उनले आपत्ती जनाएकी हुन् । ‘अहिले सो घटना सम्मानित अलादतको मातहतमा छ,’ उनले भनिन्, ‘अदालतले गर्ने फैसलालाई सम्मान गर्नु मेरो पनि कर्तव्य हो । त्यसैले यस्ता अफवाहपूर्ण प्रचारबाजीको भ्रममा नपर्न म नेता, कार्यकर्ता, पार्टी समर्थक तथा शुभचिन्तकहरुमा आपिल गर्दछु।’

नेता किँरातीले बिहीबार आफ्नो पार्टीको धारणा भन्दै महरालाई फसाउन प्रधानमन्त्री ओली, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र ओनसरी घर्ती समेत लागेको आरोप लगाएका थिए । पूर्वसभामुख घर्तीले आफूमाथिको आरोप पुष्टी गरेर देखाउन समेत नेता किरातीलाई चुनौती दिएकी छन् । निर्वतमान सभामुख महराको नक्कली ट्विटर आइडी बनाएर कतिपयले अध्यक्ष प्रचण्ड, ऊर्जामन्त्री पुनलाई समेत आरोपित गर्नेगरि अफवाह फैलाएका थिए।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।