चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको सन्दर्भमा पूर्वप्रधानमन्त्री भट्टराईको यस्तो सुझाव

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ असोज ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई विभिन्न ६ वटा सुझाव दिनुभएको छ ।

पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा विज्ञहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छलफलका क्रममा भट्टराईले आफ्नो सुझाव प्रस्तुत गर्नुभएको हो ।

उहाँका अनुसार चीन,भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रूपमा लिन तथा तीन वटैसँग समानान्तर सम्बन्ध राख्न भट्टराईले सुझाव रहेको छ ।

यसैगरी चीनसँग रेल, सडक आदि कनेक्टिीभिटी विस्तारमा जोड दिँदै रेल बनाउँदा ऋणजालमा नफस्न समेत सुझाव दिनुभएको छ । यस्तै अनुदान र ऋणको सन्तुलन मिलाउन समेत जोड दिनुभएको छ ।

कर्णाली–गण्डकी–कोशी कोरिडोरलाई प्राथमिकता दिने , सडकमा बढी जोड दिने, ऋण–अनुदान भन्दा औद्योगिक लगानी,व्यापार,पर्यटनमा जोड दिन पनि आफूले सुझाव दिएको भट्टराईले ट्वीटरमार्फत जनाउनुभएको छ ।

यसै सन्दर्भमा सुपुर्दगी सन्धी चीनसँग मात्र तत्काल नगर्न तथा लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत–चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनुपर्नेमा भट्टराईले जोड दिनुभएको छ ।

साथै सन् १९६० को नेपाल–चीन मैत्री–सन्धी अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्न पनि भट्टराईले सुझाव दिनुभएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।