पार्टी फुटको साक्षी बस्न कतै जान्न, अझै एकताको पक्षमा छु : नेता गौतम

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ पुष ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेब गौतमले आफु अझै एकताको पक्षमा रहेको बताएका छन् । उपध्यक्ष गौतमले मन्त्रिपरिषद्ले संसद भंग र मध्यवधी निर्वाचनको विरुद्धमा रहेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वीकृत नगर्न आग्रह समेत गरेको बताएका हुन् ।

गौतमले राष्ट्रपतिले विज्ञप्तिमार्फत मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृत गर्नुभएको समाचारबाट मात्रै थाह भएको बताएका हुन् । संसद भंग गरेको संसद विगठनका विरुद्धमा रहेको बताएका छन् । संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गैर संवैधानिक कदम रहेको निकर्षमा आफु पुगेको गौतमले बताए ।

संसद भंगको गैरसंवैधानिक कदमको विरोध रहेपनि दुबैतिरका भेलामा आफ्नो एकताको पक्षमा जहिलेपनि लागि पर्ने गौतमले बताए ।

उपाध्यक्ष गौतमले जारि गरेको प्रेस विज्ञप्ति यस्तो छ

मन्त्रिपरिषद्ले संसद भंग र मध्यवधी निर्वाचनको सिफारिस गरेपछि मैले सम्माननीय राष्ट्रपतिलाई टेलिफोनबाटै त्यस्तो सिफारिस स्वीकृत नगर्नुस् भन्न चाहेको थिएँ । तर, उहाँसँग टेलिफोनमा कुरा गर्न सम्भव भएन ।

त्यसपछि मैले उहाँका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीमार्फत भनेको थिएँ, ‘यदि उहाँले मन्त्रिपरिषद्को सिफारिस बमोजिमको विषयलाई जारी गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । उहाँले यसलाई एकपटक मन्त्रिपरिषद्मै फर्काइदिन उपयुक्त हुन्छ । यसका निम्ति मेरो विनम्र अनुरोध छ ।’
तर, राष्ट्रपतिले विज्ञप्तिमार्फत मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृत गर्नुभएको समाचार सुनेँ । त्यसपछि त्यो दुःखद् घटना हो भन्ने निश्कर्षमा पुगेँ । त्यसपछि संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गैर संवैधानिक कदम हो भन्ने धारणासहित मैले आइतबार नै विज्ञप्ति जारी गरेँ ।

अब फुटको घोषणा गर्नमात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरेँ ।

फेरि पनि पार्टी एकताको पक्षमा छु । त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु ।

क।केपी ओलीले गरेको भेला होस् वा अरु कमरेडहरुले गर्नुभएको भेला नै किन नहोस्– ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन् । म फुटको साक्षी बस्न सक्दिनँ । म यो पार्टी एकीकरण गराउनेमध्येको नेता हुँ । त्यसैले अहिले पनि एकताको पक्षमा म छु । संसद भंगको गैरसंवैधानिक कदमको विरोध गरिरहन्छु । तर, दुबैतिरका भेलामा मेरो उपस्थिति हुँदैन । मैले पहिले पनि गुटहरुको भेलामा नजाने भन्दै आएको हुँ ।