नेता, कार्यकर्ताको प्रवृत्तीका कारण नेपालबाट पनि कम्युनिष्ट सकिन सक्छ : नेता नेपाल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ असोज ।

भारतमा हालै सम्पन्न आम निर्वाचनमा कम्युनिष्ट शक्तिहरु नष्ट भएर गएका छन् । यो बिचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीले प्राप्त गरेको उपलब्धीलाई जोगाई राख्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

उहाँले नेता तथा कार्यकर्तामा घमण्ड पलाएमा भारतको वामपन्थी आन्दोलनको जस्तै हालत हुने भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १ सय ५५ सदस्यीय जिल्ला कमिटीलाई शुक्रबार नेपालगन्जमा पद तथा गोपनियताको सपथ गराउँदै पुर्वप्रधानमन्त्री नेपालले यस्तो डरलाग्दो खुलासा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘भारतमा भर्खरै सम्पन्न निर्वाचनमा वामपन्थी शक्तीले एउटा पनि सिट ल्याउन सकेन, वामपन्थी आन्दोलन कसरी ध्वस्त हुन्छ भन्ने कुराको पाठ भारतबाटै सिक्न सकिन्छ ।’ उहाँले अगाडी थप्नुभयो, ‘नेता, कार्यकर्तामा घमण्ड, लोभ लालच, राज्य शक्तिको दुरुपयोग र आलोचना सुन्न नसक्ने प्रवृत्ती बढ्दै गए कम्युनिष्ट आन्दोलन सकिन समय लाग्दैन ।’

पार्टी नेतृत्वप्रति संकेत गर्दै उहाँले नेताले घमण्ड नगरी जनताले दिएको जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो । पुर्वप्रधानमन्त्री नेपालले भारतको लोकसभा निर्वाचनबाट नेपालका कम्युनिष्ट पार्टीले सिक्न जरुरी रहेको धारणा राख्नुभएको हो ।

नेकपा बाँकेका अध्यक्ष आईपी खरेलको अध्यक्षतामा सम्पन्न सपथ कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य दलबहादुर राना, मोहम्मद हारुन, दिनेशचन्द्र यादव, महेश्वरजंग गहतराज, देबराज भार, दलबहादुर सुनार, अकल बहादुर बम लगायतले बोल्नु भएको थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।