आज विजया दशमी, टीकाको साइत १० बजेर ३५ मिनेट जादा उत्तम साइत

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ असोज ।

आज नेपाली मात्रको महान् चाड बडा दशैंको मुख्य दिन अर्थात विजया दशमी । आजको दिन मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा अक्षेताको टीका र समृद्धिको प्रतीक थापेर आशिर्वाद लिँदै मनाइन्छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।

किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ। तर बडा दशैं नेपालीहरूको साँस्कृतिक पर्वका रूपमा स्थापित हुदै आएको छ। बडा दशैं प्राय सबै नेपालीले विभिन्न तरिकाले मनाउने गरेका छन् । घटस्थापनाको दिनबाट विधिपूर्वक घर घरमा आह्वान गरी पूजाआराधना गरिने दुर्गादेवीलाई आजकै दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको जनाएको छ भने टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने बिहान १०ः३५ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले जानकारी दिए ।

आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइने मानिस पूर्व फर्कनुपर्छ । टीका लगाइदिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले बताए ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।