पूर्वसभामुख महरासँगको बयान दशैँपछि मात्रै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० असोज ।

बलात्कारको प्रयास गरेको आरोपमा आइतबार पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान दशैँपछि मात्र सुरु हुने भएको छ । सरकारी कार्यालयहरु बन्द भएको कारण महराको बयान दशैं बिदा सकिएपछि हुने महनगरीय प्रहरीले जनाएको छ ।

सरकारी वकिलको कार्यालयको दशैं बिदा आगामी २६ गतेसम्म छन् भने पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको कारण थप १ दिन अदालत बन्द रहने छ ।

गत शुक्रबार पीडित भनिएकी महिला रोशनी शाहीले बलात्कारको प्रयास गरेको आरोप लगाउँदै महराविरुद्ध किटानी जाहेरी थिइन् । संसद सचिवालयकै कर्मचारी रहेकी शाहीले दिएको जाहेरीपश्चात आइतबार साँझ प्रहरीले सभामुख निवासबाटै महरालाई पक्राउ गरेको थियो । महरालाई बानेश्वर वृत्त र काठमाडौं परिसरको प्रहरी टोलीले पक्राउ गरेको गरेको हो ।

यसअघि आइतबार नै जिल्ला अदालत काठमाडौंले पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले पक्राउ पुर्जी काटेको थियो । बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका महरालाई महनगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

महराको बयान प्रहरी परिसर टेकुले लिने तयारी गरेको छ । उनिविरुद्ध जबरजस्ती करणी उद्योग र महिला हिंसाको मुद्दा चलाइने तयारी गरिएको छ । महराविरुद्धको आरोप पुष्टि भएमा उनलाई ३ वर्ष ६ महिना वा ५ वर्षसम्म जेल सजायँ हुनसक्नेछ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
loading...
Loading...