महरालाई कडा कारवाही गर्न प्रचण्डले गृहमन्त्री बादललाइ घरमै बोलाएर दिए यस्तो निर्देशन !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० असोज ।

संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीमाथि गरेको अभियोगमा सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा निष्पक्ष छानबिन गर्न नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रामबहादुर थापालाई आग्रह गरेका छन्।

अध्यक्ष प्रचण्डले गृहमन्त्री थापालाई आफ्नो निवास खुमलटारमा बोलाएर उक्त प्रकरणको निष्पक्ष छानबिन गर्न आग्रह गरेको बताइएको छ। प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘उक्त प्रकरणले व्यापक चर्चा पएपछि अध्यक्षले गृहमन्त्रीलाई निष्पक्ष छानबिन गर्न आग्रह गर्नुभएको हो।’ महरामाथि निष्पक्ष अनुसन्धान गरेर दोषी देखिएमा कानुनअनुसार कारबाही गर्न गृहमन्त्रीलाई अध्यक्ष प्रचण्डले आग्रह गरेको स्रोतले जानकारी दियो।

प्रचण्डले उक्त प्रकरणमा पार्टीबाट कुनै पनि दबाब नआउने र सरकारी सुरक्षा निकायले गरेको छानबिनलाई पार्टीले सघाउने पनि प्रतिबद्धता व्यक्त गरेका थिए। गृहमन्त्री थापाले नेपाल प्रहरीले उक्त प्रकरणको छानबिन गरिरहेको अध्यक्ष प्रचण्डलाई जानकारी दिएका थिए। महरा हिजो नै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरिसकेको छ । यता महरालाई पक्राउ पुर्व प्रहरीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई लिखित जानकारी गराएको थियो । महरा प्रतिनिधि सभा सदस्य भएको कारण पक्राउ गर्नुपुर्व संघीय संसदलाई जानकारी गराउनुपर्ने कानुनी प्रावधान छ। सोही प्रावधान अनुसार प्रहरीले संघीय संसदका उपसभामुख तुम्बाहाम्फेलाई लिखित जानकारी गराएर मात्र पक्राउ गरेको थियो ।

यही असोज १२ गते काठमाडौँको शान्तिनगरस्थित ‘डि प्रेसन’ को औ षधि सेवा गर्दै आएकी संसद् सचिवालयमा कार्यरत एक महिलाको निवासमा भएको भनिएको सो घटनामा पीडित महिलाले सार्वजनिकरूपमा परस्पर विवादित प्रतिक्रिया दिए पनि प्रहरीलाई किटानी जाहेरी दिएकाले थप अनुसन्धानका लागि महरालाई प्रहरी हिरासतमा राखिएको हो । ती महिलाको सार्वजनिक पहिलो भिडियोमा आफू महराबाट करणी भएको उल्लेख छ भने दोस्रो भिडियोमा महरासँग लामो पारिवारिक सम्बन्ध रहेको र बाबुसमान व्यक्तिबाट त्यस्तो घटनाको कल्पना गर्न नसकिने उल्लेख छ । आरोप सार्वजनिक भएपछि तत्कालीन सभामुख महराको सचिवालयले पीडित भनिएकी महिलाको निवासमा त्यस दिन महरा नगएको र उक्त आरोप आधारहीन एवं षडयन्त्रपूर्ण भएको जिकिर गरेको थियो ।

दशैँ बिदाका क्रममा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने भएकाले घटनाबारे अनुसन्धान जारी रहे पनि सुनुवाइ रोकिने हुँदा त्यसबीचमा महरा हिरासतमै रहनुपर्नेछ । पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनमा शोक मनाउन सर्वाेच्च अदालतले यही असोज २७ गते मुलुकका सबै अदालतमा बिदा दिने निर्णय गरेकाले २८ गतेमात्र अदालत नियमित खुल्नेछ । अन्य घटनामा जस्तै यस घटनामा पनि प्रहरीले थप अनुसन्धान गरी प्रतिवेदन तयार गर्नेछ । उक्त प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अभियोगपत्र तयार गरी अदालतमा पेश गर्नेछ ।

त्यस्तै हिजो पक्राउ परेका महराको स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई उच्च रक्तचापसँगै स्वासप्रस्वासको समस्या देखिएको हो । महराको आइतबार राति स्वास्थ्य परीक्षण गरिएको थियो । स्वासप्रस्वासको समस्या देखिएपछि महरालाई हिरासत कक्षमा नै अक्सिजन दिने व्यवस्था मिलाइएको बताइएको छ ।गएराति त्रिवि शिक्षण अस्पतालमा महराको स्वास्थ्य परीक्षण गरिएको छ । प्रहरीले उनको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गरेको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
loading...
Loading...