विद्रोह भित्रभित्रै भूसको आगो झै सल्कदै गएको छ : पूर्वराजा शाह

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ असोज ।

पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भूसको आगो भित्रभित्रै सल्कदै गएको अवस्थाले कसैको हित नहुने बताएका छन् ।

शाहले प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधिभन्दा सम्याउने, सूल्झाउने, सच्याउने र आफ्नै ‘राष्ट्रिय आदर्श’ बमोजिम समझदारीका साथ अघि बढ्ने अटूट प्रयत्न हुनुपर्ने सुझाव समेत दिएका छन् । सन्देशमा भनिएको छ, ‘राष्ट्रका यावत् विधि विधान, व्यवस्था र बन्दोबस्त सर्व हितकारी हुनुपर्दछ, अनि त्यो सर्वग्राह्य पनि बन्नु पर्दछ । पुर्खाको गाथा, पौरख र सूसंस्कृत सभ्यतालाई भूलेर जान खोज्दा कदापि हाम्रो भलो हुँदैन ।’

शाहलेले अर्कामाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्यौने र आ–आफ्नो कमि कमजोरीलाई ढाकछोप गरि, निषेध र विभेदको प्रकृया अपनाउने प्रवृत्ति कुनै पनि अर्थमा राम्रो नभएको पनि बताएका छन् । ‘हाम्रो उद्देश्य हाम्रो देश, हाम्रो पुरै देशको उन्नति बाहेक अरु केहि हुँदैन । यो देश आफै उत्पीडन र आतंकको नभई बुद्धि र भाइचाराको स्मारक बन्नुपर्दछ,’ उनले भनेका छन् ।

शाहले दसैँको अवसरमा देश भित्र र देश बाहिर रहेर बसेका समस्त नेपालीहरुमा सूख, शान्ति र सम्वृद्धिको शूभकामना व्यक्त गर्दै नवदुर्गा भवानीले हाम्रा सबै आसूरी र स्वार्थी व्यवहारको विनाश गरी हामीलाई हाम्रो “सनातनिक सत्य पथतर्फ” अभिप्रेरित गरुन् भनेर कामना समेत गरेका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
loading...
Loading...