महरालाई पक्राउ नगर्न ओली र प्रचण्डको दबाब

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ असोज ।

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई कारबाही गर्ने कि नगर्ने ? प्रहरी दुविधाग्रस्त देखिएको छ। लिखित उजुरी नआई कसरी समात्ने ? उच्च स्रोत भन्छ, ‘भोलि अदालतमा जाहेरवाला खोइ भनेर खोजी हुन्छ। प्रहरी प्रतिवेदनले मुद्दा चलाउने हो भने पनि घटना वारदातमा प्रहरी थिएन। त्यसैले कानुनी कारबाहीको बाटो साँघुरिएको हो।’

महरालाई तत्काल पक्राउ नगर्न नेकपाको पूर्वमाओवादी नेता र सरकारको दबाब रहेको स्रोत बताउँछ। ‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड (पुष्पकमल दाहाल) कै सुझावमा महराले सभामुखबाट राजीनामा दिएका हुन्’, ती स्रोत भन्छ, ‘तर, महरालाई पक्राउ गरेर छानबिन नथाल्न पार्टीभित्रकै दबाब छ। यसले पनि हामीलाई दुविधा गराएको हो।’

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार महरालाई पक्राउ मात्रै नगरिएको हो। उनलाई अभियुक्तसरहकै व्यवहार प्रहरीले गरिरहेको छ। भन्छन्, ‘घटनास्थलमा भएका वस्तु बरामददेखि लिएर पीडित महिलाको बयानसमेत लिइसकेका छौं।’ महरासँग मात्रै बयान लिन बाँकी रहेको उनी सुनाउँछन्। प्रहरीका अनुसार महराविरुद्ध पक्राउ पुर्जीका लागि अदालतको आदेश चाहिन्छ। पक्राउ पुर्जी अभियोगबिना सम्भव छैन। पीडितले प्रहरीमा लिखित जाहेरी दिन सकेकी छैनन्। प्रहरी जाहेरी कुरिरहेको छ। तर, जाहेरी नदिन महरानिकट पूर्वमाओवादीको दबाब रहेको खुलेको छ।

संघीय संसद्की कर्मचारी रोशनी शाहीले तत्कालीन सभामुख महराबाट आफू यौन हिंसामा परेको बताएकी थिइन्। आफू मुछिएपछि महराले छानबिनलाई सघाउन भन्दै पदबाट राजीनामा दिएका थिए। रोशनीका श्रीमान् चित्रजंग शाहीले भने महरालाई नै साथ दिएका छन्। उनकै दबाबमा रोशनीले महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफू डिप्रेसनको बिरामी भएकाले बोलेका कुरा आवेगमा मात्रै आएको जानकारी गराएको स्रोत बताउँछ।

महराले आफूनिकटस्थसँग सभामुख पदबाट राजीनामा दिए पनि सांसद पद नछाड्ने बताउँदै आएका छन्। उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालले महरालाई पक्राउ गरी थुनामा राख्नुपरे सोधेर मात्रै अगाडि बढ्न सुरक्षा निकायलाई भनेका छन्। सरकार प्रमुख र सत्ताधारी दलका अध्यक्षबाटै महराविरुद्ध कानुनी चलाउन प्रस्ट निर्देशन नभएपछि प्रहरी दुविधामा परेको उच्च स्रोत बताउँछ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।