राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओली

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ पुष ।

नेकपाको आन्तरिक विवाद मिलाउन दिनभर सक्रिय रहेर भेटघाट गरेका प्रधानमन्त्री केपी शर्मा ओली साँझ शीतलनिवास पुगेका छन् । बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई उनकै निवास खुमलटारमा भेटेका ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

बिहानको भेटमा प्रचण्डले ओलीको प्रस्ताव स्वीकार नगरेसँगै ओलीले पुल्चोक मन्त्रीनिवास पुगेका गृहमन्त्री राम बहादुर थापा बादललगायतका मन्त्रीहरुसँग छलफल गरेका थिए । दिनभरको छलफलपछि ओली राष्ट्रपति निवास पुगेका हुन् ।

राष्ट्रपतिसँगको भेटमा पार्टीभित्रको राजनीतिक अवस्थासहित संवैधानिक परिषदुसम्बन्धी अध्यादेशको विषयमा छलफल हुनसक्ने बालुवाटार स्रोतले बताएको छ ।

प्रचण्डसँगको भेटलगत्तै गृहमन्त्री थापा भेट्न पुल्चोक पुगे प्रधानमन्त्री ओली

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटारमा भेटेपछि प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य राम बहादुुर थापा बादललाई भेट्न पुल्चोक पुगेका छन् ।

यसअघि ओली प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । अध्यक्षद्वयको छलफलमा उपाध्यक्ष बामदेव गौतम पनि पुगेका थिए । सत्तारुढ नेकपामा विवाद चर्चिकरहेका बेला सहमतिको प्रयास पनि तीव्र बनेको छ ।

हिजो बेलुका बालुवाटारमा पुगेका प्रचण्डलाई प्रधानमन्त्री ओलीले भोलि खुमलटारमै आएर छलफल गर्छु भनेका थिए । नेकपामा पछिल्लो समय आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीले थप ठाउँ दिएका थिए ।

उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर प्रचण्ड र वरिषठ नेता माधव कुमार नेपाल समूहलाई थप चिढ्याएका थिए । यससँगै नेकपामा वारपारको अवस्था आएको राजनीतिक वृत्तमा चर्चा चलेको थियो ।

तर, नेकपाको स्थायी समिति बैठकले ओलीले उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । अध्यादेशविरुद्ध संसद बोलाउन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका नेकपाका सांसदहरु पनि अध्यादेश फिर्ता हुने भएसँगै फर्किएका थिए ।

पार्टी एकतालाई कायम राख्दै अगाडि बढ्नुको विकल्प नभएको भन्दै नेकपाका दोस्रो तहका नेताहरुले आफ्नो सक्रियता बढाएका थिए । परिणमस्वरुप दुई अध्यक्षले वार्तालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने छनक देखाएका छन् ।