ओलीको निरंकुश कदमलाई असफल बनाउँछौंः गगन थापा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ पुष ।

नेपाली कांग्रेसका नेता गगन थापाले संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई असंवैधानिक र निरंकुश कदम भएको बताएका छन्। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेपछि नेता थापाले उक्त अध्यादेश सडक र सदनको बलबाट असफल बनाउने चेतावनी दिए।

संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई असंवैधानिक र निरंकुश कदम भएको पनि उनले दाबी गरे। उनले सडक, सदनको बलबाट र जनताको साथ र शक्तिबाट यस कदमलाई असफल बनाउने बताए। संसद बन्द गरेर संविधान व्यवस्थाको खिल्ली उडाइ राष्ट्रपतिसँगको साँठगाँठमा अध्यादेश जारी गर्ने गरेको उनले बताए।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसँगको साठगाँठमा अध्यादेश जारी गर्ने! सरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं। सडक र सदनको बलबाट! जनताको साथ र शक्तिबाट!’