यौन दुराचार प्रकरण : २४ घन्टा नबित्दै फेरियो आरोप लगाउने महिलाको बोली

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ असोज ।

सोमबार महिलाको आरोप–यतिसम्म गर्नुहोला भन्ने सोचेकी थिइनँ उहाँ (सभामुख महरा)ले साँझ ७ बजे ‘म आउँछु’ भनेर फोन गर्नुभयो । केहीबेरमा रक्सी बोकेर आउनुभयो, आज दसैँ मनाऊँ भन्नुभयो । पहिल्यै खाएर आउनुभएको रहेछ, फेरि दुई गिलास खानुभयो ।
कोठामा पस्नेबित्तिकै जबर्जस्ती गरेपछि ममाथि कुटपिट पनि भयो । कुटाइले जिउ थिलथिलो भएको छ । योभन्दा पहिले पनि उहाँबाट ममाथि दुव्र्यवहारको प्रयास भएको थियो ।

उहाँलाई मैले ०४७ सालदेखि नै चिनेकी हुँ । रोल्पा हुँदा उहाँकै घरमा बस्थेँ । त्यहाँ बस्दा फेमेलीजस्तै भइसकेको थियो । यतिसम्म गर्नुहोला भन्ने सोच्या थिइनँ । प्रहरी बोलाउँछु भनेपछि मात्रै उहाँ जानुभयो । ‘यतिसम्म गरिस्, कि तँ हुँदैनस्, कि म रहन्नँ’ भनेपछि जानुभएको हो ।
उहाँले (महरा)ले कति वेला आऊँ, के गरौँ भनेर जतिवेला पनि त्यही कुरा गर्नुहुन्थ्यो । त्यो भन्दा मलाई मनै पर्दैन थियो ।

मंगलबार उनले भनिन्– उहाँ मेरो बाउसमानको मान्छे

उहाँ (सभामुख महरा) मेरो डेरामा आउनुभएकै छैन, नआएको मान्छेलाई आएको भनेर कसरी भन्नू ? संसद्मा उहाँको प्रेसर जाँच्ने क्रममा भेट हुने हो, कहिलेकाहीँ फोनमा पनि कुरा हुन्छ ।
मैले उहाँलाई मेरो बुबाजस्तै सोच्छु । उमेर पनि बाउकै जस्तो छ । त्यही भएर मैले उहाँलाई बाउलाई गर्नुपर्ने रेस्पेक्ट गर्छु । बाउछोरीकै नातामा कसैले शंका गर्छ र त्यसमा अनेकथरी कुरा गर्छ भने त्यसमा मलाई कुनै लेनादेना छैन, तिनीहरूले नै भोग्नुपर्ला ।
मैले एकपटक सभामुखज्यूसँग हाम्रो समायोजनबारे कुरा गरेकी थिएँ । मेरो समायोजन निकै दुर्गम ठाउँमा भाको छ, त्यो मिलाइदिनुहोला भनेकी थिएँ । ‘हुन्छ, हुन्छ’ भन्नुभएको थियो, तर गर्नुभएन । त्यसपछि मलाई पनि रिस उठ्यो । म अलिकति डिप्रेसनमा पनि छु । औषधि खाइरहेकी छु । समायोजनको विषयमा उहाँसँग फोनमा झगडा पनि भयो ।

हिजो मलाई मिडियामा त्यस्तो बोल्न प्रभावित पारेको मेरै रिसले हो, अरू कसैले होइन । डिप्रेसनको औषधि पनि हाइडोजमै लिइरहेकी थिएँ । रिसकै तालमा प्रहरीलगायत क–कसलाई फोन गरे थाहा छैन । तर, अहिले सुनियोजित तरिकाले उहाँलाई पदच्युत गरेर त्यसमा आफू ‘स्टाब्लिस’ हुने खालको माहोल मैले देखेँ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।