नेपाललाई खुला दिशामुक्त गर्दै प्रधानमन्त्रीले भने `चाँडै भिकारीमुक्त पनि घाेषणा गर्छाैँ´

हाम्रो सन्देश संवाददाता

१३ असाेज, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणाले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताउनुभएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको सो घोषणा समारोहमा प्रधानमन्त्री ओलीले घोषणामा अन्तरनिहित विविध पक्षलाई सबलीकृत गर्दै अनवरतरुपमा जनजागरण र जनचेतना फैलाउन आवश्यक भएकामा जोड दिँदै नेपाललाई अल्पविकसितबाट माथि उठाउने, गरीबीको रेखाबाट माथि पुग्ने, निरक्षता उन्मूलन गर्ने जस्ता कामका लागि सरकार सजगताका साथ योजनाबद्ध भई अगाडि बढेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो विकास हामीले गर्नुपर्छ । सचेत प्रयास हामीले अगाडि बढाउनुपर्छ । कुनै पनि देशलाई अर्काले आएर बनाइदिएर हुँदैन, आफैँले बनाउनुपर्छ । यो घोषणाले नेपाल स्पष्टतः एक कदम अगाडि बढेको छ । नयाँ नेपाल यसै गरी बन्ने हो ।” उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न नेपाल हरेक दिन एक कदम अगाडिको अभियान थालिएको उल्लेख गर्दै सामाजिक र स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि नयाँ उचाइमा पुगिएको बताउनुभयो ।

यस घोषणाबाट मानिस निरोग हुने, स्वास्थ्योपचारमा हुने खर्च घट्ने, सङ्क्रमण र कम हुने, मृत्युदर कम हुने र सरदर आयु वृद्धि हुने प्रधानमन्त्रीले बताउनुभयो । “हामी जनताप्रति उत्तरदायी हुन्छौँ । जनतालाई अमानवीय अवस्थामा हुन नदिने सङ्कल्प छ । सडकमा बेसहारा रहने अवस्था चाँडै मुक्त गर्र्छाैँ । अब समग्र सफा, स्वच्छ नेपाल बनाउनुपर्छ । प्राकृतिक हिसाबले नेपाल चिटिक्क छ ।” उहाँले भन्नुभयो, “सिङ्गै नेपाललाई चिटिक्क बनाउने तथा बाटा, खेत, डाँडापाखा सबै हेरिरहुँ जस्तो बनाउने दिशामा अगाडि बढेका छौँ ।”

प्रधानमन्त्री ओलीले नेपालका ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपाललाई खुला दिसामुक्त घोषणा गर्नुभएको थियो । साथै उहाँले सन् २०३० सम्म दिगो विकासको लक्ष्य पूरा गर्ने सङ्कल्प पनि गर्नुभयो । घोषणालाई कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा सहभागीले राष्ट्रिय झण्डा फहराउँदै तालीको गड्गडाहटले स्वागत गरेका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।