वीरगन्जबाट व्यापार : चारपांग्रेको आयात बढ्यो, मोटरसाइकलको घट्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ आश्विन ।

चालु आर्थिक वर्षको दोस्रो महिनामा वीरगन्जबाट हुने वस्तु आयातमा गत आर्थिक वर्षको तुलनामा केही परिवर्तन देखिएको छ। भदौसम्मको तथ्यांकअनुसार जिप, कार र भ्यानको आयात बढेको छ भने मोटरसाइकलको आयात घटेको छ।

वीरगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार यो नाकाबाट भदौसम्ममा चारपांग्रे सवारी साधनको आयातमा सामान्य वृद्धि देखिएको छ। गत वर्षको भदौसम्ममा १ हजार ४ सय ९२ वटा चारपांग्रे सवारी साधन आयात भएकोमा यसवर्ष बढेर १ हजार ५ सय ७३ वटा सवारी साधन आयात भएका छन्।

यही नाकाबाट हुने मोटरसाइकलको आयात भने घटेको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार २३ हजार ८ सय ३५ वटा मोटरसाइकल आयात भएको छ। गत वर्षको यही अवधिमा ३१ हजार ३ सय ४ वटा मोटरसाइकल आयात भएको थियो।

ad
चारपांग्रे सवारी आयातबाट सरकारले संकलन गर्ने राजस्वमा सामान्य वृद्धि देखिएको छ। सरकारले यो अवधिमा ३ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्षको यही अवधिमा ३ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।

मोटरसाइकल आयात घट्दा संकलन हुने राजस्व पनि घटेको छ। गत वर्ष ३ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो भने यो वर्ष २ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।