नेपालीको महान् पर्व बडादशैं आजदेखि सुरु, आज घटस्थापना

हाम्रो सन्देश संवाददाता

विराटनगर, १२ असोज ।

नेपालीको महान् चाड बडादशैँ आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ ।
बडादशैंको पहिलो दिन आज रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी घटस्थापना घर(घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजको दिन गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ ।

यसै दिनदेखि नवरात्र मेला पनि सुरु हुने भएकाले नौ दिन नै पायक परेका शक्तिपीठमा पूजाअर्चना, दुर्गा स्तोत्र र चण्डीपाठ पारायण गरेर दुर्गा भवानीको आराधना गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फुलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।
टीकाको साइत १० बजेर ३५ मिनेटमा

दशैंको टीका असोज २१ गते मंगलबार परेको छ । विजयादशमीका दिन बिहान ८ः४५ बजे देवी विसर्जन गरेपछि १०ः३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।

धेरैजसो शैक्षिक संस्थाले आजैका दिनदेखि दशैँका अवसरमा सार्वजनिक बिदा दिने गर्दछन् । घटस्थापनाका अवसरमा दिने बिदा भने पछिल्ला वर्षमा कटौती गरिएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।