इन्डोनेसियामा ६.५ म्याग्निच्युडको भूकम्प, २० जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

आम्बोन सिटी, १० असोज ।

इन्डोनेसियामा आज बिहीबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहानको समयमा ६.५ म्याग्निच्युडको भूकम्प आएको हो ।

अधिकारीहरुले दिएको जानकारी अनुसार भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन् भने सयौँ विस्थापित भएका छन् ।
देशको दुर्गम क्षेत्रमा पर्ने मालुकु टापुमा गएको भूकम्पपछि आएको पहिरोमा परी एक जना पुरिएका छन् । भुकम्पबाट त्रसित भएका स्थानीय बासिन्दा दौडिएर घरबाट बाहिर निस्किएका थिए । उनीहरु लामो समयसम्म सडकमै भेला भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।
“कम्तीमा एक सय जना घाइते भएका छन्, दुई हजार भन्दा बढी घरबारविहीन भएका छन्,” राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अगुस विबोवोले भने । झण्डै चार लाख जना सो भूकम्पबाट प्रभावित भएका बताइएको छ ।

उनले पछिल्लो विवरण दिदै मृत्यु भएका २० जना मध्ये एक जना नवजात रहेको पनि जानकारी दिए । घटनाको प्रारम्भिक विवरणमा स्थानीय अधिकारीहरूले एक जनाको मृत्यु भएको र अरु कैयौँ घाइते भएको बताएका थिए ।
अधिकारीहरुका अनुसार एक जनाको हृदयघात भएर मृत्यु भएको छ भने अर्की एक महिलाको मोटरसाइकलबाट खसेर मृत्यु भएको छ । स्थानीय समयानुसार बिहान करिब ८।४५ बजे भूकम्प आएलगत्तै मानिस आत्तिएर घर बाहिर निस्केका थिए ।
अमेरिकी भूगर्भ विभागकाअनुसार मालुकु प्रान्तको आम्बोन शहरबाट करिब ३७ किलोमिटर उत्तरतर्फ उक्त भूकम्पको केन्द्र विन्दु रहेको छ । मुख्य भूकम्पपछि अरु एक दर्जन परकम्प गएको र एउटा परकम्प ५।६ म्याग्नीच्यूडको पनि गएको इन्डोनेसियाली भूगर्भ विभागका प्रमुख रहमत ट्रियोनोले बताए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।