पाकिस्तानमा गएको शक्तिशाली भुकम्पपछि दोलखा केन्द्रविन्दु भएर नेपालमा पनि भुकम्प

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ असोज ।

नेपाल लगायत एशियाली मुलुकहरुमा भुकम्पको जोखिम बढ्दो क्रममा रहेको छ । गत मङ्गलबार पाकिस्तानमा गएको भूकम्पमा परी अहिलेसम्म ३८ जनाले ज्यान गुमाएका छन् । भूकम्पका कारण करिब ५ सय व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले जनाएको छन् ।

मृतकहरुको संख्या बढ्ने अनुमान गरिएको छ । आज बिहानै पनि नेपालमा भुकम्प गएको छ । नेपालको दोलखा जिल्लामा केन्द्र विन्दु बनाएर आज बिहान १ः१८ मिनेटमा ४ रेक्टर स्केलको भुकम्प गएको थियो । मध्यरातिको समय भएको कारण धेरैले यसको असर महसुस गर्न पाएनन् ।


मंगलबार पूर्वी पाकिस्तान अर्थात पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीरको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो ।मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युत्का पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ । अहिले उद्धार कार्य भइरहेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।