उखु किसानद्वारा माइतीघरमा आन्दोलन : चिनीमा कसरी पस्यो माफिया ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ मंसिर ।

उखु बेचेको पैसा पाउनुपर्ने माग गर्दै सर्लाहीका उखु किसानले काठमाडौंको माइतीघरमा आन्दोलन गरेका छन् ।गएको वर्ष आन्दोलनपछि सरकारले गरेको सहमति पूरा नभएपछि फेरि आन्दोलनका लागि काठमाडौं आएका किसानहरुले आइतबार दिउँसोदेखि आन्दोलन थालेका हुन् ।

चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुष १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागू नभएको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । किसानहरुले आफ्ना माग पूरा नहुञ्जेल माइतीघर मण्डलामा आन्दोलन गर्ने बताएका छन् ।

गएको वर्ष पनि चिसो मौसमको सामना गर्दै माइतीघरमा धर्ना दिएका किसानलाई सरकारले भुक्तानी दिलाउने सहमति गरेपछि उनीहरु फर्किएका थिए । तर सरकारले गरेको पाँच बुँदे सहमति कार्यान्वयन नभएकाले यस वर्ष आफूहरुले पाउनुपर्ने सबै रकम नलिइकन आन्दोलन नरोक्ने किसानको अडान छ ।

चिनी मिलबाट वर्षौंदेखि भुक्तानी नपाएर पीडित बनेका आफूहरुलाई सरकारले समेत झुलाएको उनीहरुको गुनासो छ । गएको वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइ दिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो । तर, एक वर्ष बित्दा किसानले सबै रकम पाएका छैनन् ।

सरकारी तथ्याङ्कअनुसार उखु मिलसँग किसानले अझै ५२ करोडभन्दा धेरै बक्यौता पाउनु पर्नेछ । यसैबीच काठमाडौंमा सुरु भएको उखु किसानहरुको आन्दोलनलाई विवेकशील साझा पार्टीले आफ्नो साथ र सहयोग रहेको बताएको छ । ऐक्यबद्धता जनाउँदै साझा पाटीले विज्ञप्ति निकालेर उखु किसानको आन्दोलनप्रति समर्थन जनाएको हो । उसले किसानका माग पूरा गर्न सरकारसँग माग पनि गरेको छ ।