तेह्रथुमको सुदापमा बालिका मृत्यु अपडेट : शव पोस्टमार्टम लागि तेह्रथुम लगिदै

हाम्रो सन्देश संवाददाता

तेह्रथुम, २८ मंसिर ।

तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ६ मा ३ जना बालिकाहरूको प्लास्टिक पोखरीमा डुबेर मृत्यु भएकाहरूको शव पोस्टमार्टमका लागि तेह्रथुम लाने तयारी भएको छ ।

प्रगति कृषि समूहको प्लास्टिक पोखरीमा उनीहरू शनिवार दिउसो पौडी खेल्ने क्रममा डुबेको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए । मृत्यु हुनेमा स्थानीय कोपिला लिम्बुकी ६ वर्षीय छोरी रञ्जना लिम्बु र ७ बर्षीया छोरी रोजना लिम्बु रहेका छन् भने स्थानीय देवेन्द्र लिम्बुको ८ वर्षिया छोरी सोहना लिम्बूको पनि मृत्यु भएको हो ।

पारिवारिक श्रोतका अनुसार हिजो दिउसो उनीहरू पौडी खेल्न भनी स्थानीय प्रगति कृषि समूहको प्लास्टिक पोखरीमा पुगेका थिए । साँझ सम्म पनि उनीहरू नफर्किए पछि खोजी गर्ने क्रममा उनीहरू पोखरीमा मृत भेटिएका हुन् ।

घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनाका बारेमा प्रहरीले सूचना पाए लगत्तै हिजै राति घटनास्थल पुगेको थियो ।

राति अबेर भएका कारण आवश्यक कानुनी प्रक्रिया भने आज बिहान मात्रै सकेर शवलाई पोस्टमार्टम लागि जिल्ला अस्पताल तेह्रथुम पठाउने तयारी भइरहेको तेह्रथुमको छथर गाउँपालिकाका प्रमुख सन्तोष तिगेलाले जानकरी दिएका छन् ।