ओली पक्षीय युवा भेलाले भन्यो, “गाउँ गाउँमा गएर केपी ओली जिन्दाबाद भन्नुहोस्

हाम्रो सन्देश संवाददाता

इटहरी, २८ मंसिर ।

नेकपा भित्रको विवाद सतहमा आएपछि आरोप प्रत्यारोपमा उत्रिएका नेताहरू अहिले जिल्ला तहमा आएर गुटगत भेला गर्न थालेका छन् । शनिवार ओली पक्षका युवाहरूले आयोजना गरेको मोरङको सुन्दरहरैचाको भेलाले नेकपा अध्यक्ष तथा प्रधानमन्त्रीको वकालत गर्न कार्यकर्ता लाई निर्देशन गरेको छ ।

सत्यको र राष्ट्रियताको पक्षमा ओली कहिल्यै विचलित नभएको भन्दै ओलीको पक्षमा खुलेर लाग्नुपर्ने युवाहरूको बुझाई छ । एक दर्जन बढी युवाहरूले सम्बोधन गरेको कार्यक्रममा ओली देशकालागी विकल्पहीन नेता भएको र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को राजनैतिक उद्धार गरिदिएको समेत बताए । प्रचण्डले अझै बढी विवाद बढाउँदै लगे काँग्रेसमा गणेशमानको हालत बनाइदिने समेत चेतावनी दिए ।

प्रदेश १ भरीका १ हजार बढी युवाहरूको उपस्थितिमा भएको भेलाले ओलीको पक्षमा वकालत गर्ने भएको छ । एकताको लागी युवा अभियानले आयोजना गरेको भेला भए पनि ओली पक्षीय नेता कार्यकर्ता मात्र उपस्थित भएका थिए ।

इतिहास मै पहिलो पटक सरकारले राम्रो काम गरेको भन्दै त्यसको प्रचारमा युवाहरू एक हुनुपर्ने उनीहरूको बुझाई छ । राष्ट्रिय युवासंघका सहसंयोजक रमेश पौडेलले आफूले गुटबन्दी गरेको नभई सत्य बोल्ने आँट गरेको बताए । ‘सूर्य लाई सधैभरी ग्रहण लगाउन सकिँदैन । सत्य कहिल्यै लुकाउन सकिँदैन । त्यसैले गाउँ गाउँमा गएर केपी ओली जिन्दाबाद भन्नुस् युवासंघ केन्द्रीय कमिटी तपाईँको साथमा छ’, उनले भने । वरिष्ठ नेता माधव कुमार नेपाल प्रति लक्षित गर्दै उनले हार स्वीकार गर्न नसकेको आरोप लगाए । कुनै बेला आदर्शको सगरमाथा मानेका थियौ । तर उनी त कुण्ठाको सगरमाथा पो रहेछन्, उनले थपे ।

भेलामा बोल्नै अधिकांश नेताहरूले प्रचण्ड प्रति दया भाव प्रकट गरे । ओलीको अगाडी प्रचण्ड केही पनि नभएको र ओलीकै कारण उनले यती बोल्ने हैसियत पाएको उनीहरूको भनाई थियो । पार्टी अहिले विभाजनको डिलमा पुगेको स्मरण गराउँदै उनीहरूले पूर्व एमाले एक हुनुपर्ने धारणा राखेका थिए ।

भेलाको प्रमुख अतिथि बनेको पूर्व मन्त्री तथा नेकपा केन्द्रीय सदस्य गोकुल बास्कोटाले जनताको बहुदलीय जनवाद नमान्नेहरू बाट पार्टीलाई धोका भएको आरोप लगाए । “जनताको बहुदलीय जनवाद भन्दा अराजकताको आरोप लाग्छ भने बारम्बार अराजक बन्नुस् ।, उनले भने, “बहुमतको आडमा केपी ओली जस्तो भीमकाय हात्तीलाई तर्साउन खोजिँदै छ । यो हास्यास्पद बाहेक केही हुँदैन ।”

रङ्ग नभएको एमालेलाई केपी ओलीले ‘लिङ्ग र रङ्ग’ दिए

ओलीको पक्षमा खरो टिप्पणी गर्दै आएका बास्कोटाले पार्टीको आफ्नो रङ्ग नभएको एमालेलाई केपी ओलीको अडानका कारण लिङ्ग र रङ्ग दिएर दिशा प्रदान गरेको बताए । वैदेशिक हस्तक्षेप निम्त्याएको आरोप लगाएका अर्का अध्यक्ष प्रचण्ड प्रति लक्षित गर्दै उनले जासुस आओस् कि डाकूँ आओस् कुनै देशको प्रतिनिधि वार्तामा आउँछ भने रातो कार्पेट ओछ्याएर स्वागत गरिने धारणा राखे ।

“कहाँको नेकपा एमाले कहाँ आइपुग्यो ? के यो सब ओलीले गर्दा हैन ?, उनले प्रश्न गरे, तर अहिले पार्टी चलाउन नदिएर शक्ति र सत्ताको खेल गरेका हैन ?” आफूमाथि लागेको ७० करोडको आरोप पुष्टि गरे जस्तो सुकै कारबाही भोग्न तयार रहेको उनले बताए । आफू राज्यको कुनै पनि कानुनबाट नभाग्ने धारणा राखे ।

नारायणकाजी श्रेष्ठ प्रति लक्षित गर्दै उनले ‘कम्तीमा न्याय निरूपण नहुन्जेल राजीनामा त दिनु’ भन्दै ब्याङ्ग्य गरे । पूर्व एमाओबादी स्थानीय निर्वाचनमा सत्यनासस भएपछि पार्टी एकतामा आएको उनको भनाई छ । कार्यकर्ताहरू सबै ओलीको पक्षमा लागेपछि प्रचण्ड समस्यामा परेको उनले बताए । यदि पार्टी फुट्यो भने काँग्रेसले खुट्टा हल्लाएर खाने चिन्ता व्यक्त गरे ।