नवलपरासीमा भयानक दुर्घटना, ६ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ७ असोज ।

पूर्वी नवलपरासीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ । अरु १६ जना घाइते छन् ।

पूर्वपश्चितम राजमार्गअन्तर्गत नारायणढ–बुटवल सडक खण्डस्थित कावासोती खरकट्टा जंगलमा कार र ट्रक ठोक्किँदा ५ जनाको ज्यान गयो । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ८५३२ नम्बरको ट्रक र कावासोतीबाट नारायणगढतर्फ आउँदै गरेको बा२१च ६४०९ नम्बरको कार आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वीनवलपरासीका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार मृतक सबै कारमा सवार हुन् । मृत्यु हुनेमा पूर्वी नवलपरासी देवचुली नगरपालिका–१ का दीपक विक, सोही नगरपालिका– ५ का डिलबहादुर ढेंगामगर र कैलाली धनगढीका सुरज रानामगर छन् ।

अन्यको सनाखत हुन बाँकी छ । अधिकारीका अनुसार तीव्र गतिको कार ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किएको थियो । उता मध्यविन्दु नगरपालिकाको अरुणखोला जंगलमा गएराति नै भएको अर्को दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

दाङबाट काठमाण्डु आउँदै गरेको ना७ख ८६४२ नम्बरको बस सडकमा अनियन्त्रित भई पल्टिँदा बस चालक मकवानपुरका ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको हो । गम्भीर घाइते तिमिल्सिनाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।