बाबुराम भन्छन् काँग्रेसको युग सकियो, नेपाली कांग्रेसलाई म्युजियममा सम्मान गरेर राखौं

हाम्रो सन्देश संवाददाता

जेठ ११, कास्की ।

समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले नेपाली काँग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्ने बताएका छन् । कांग्रेसकै सहयोगमा गोरखाबाट निर्वाचन जितेका भट्टराईले सोही कांग्रेसलाई अब म्युजियममा राख्नुपर्ने बताएका हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

समाजवादी पार्टीको पहिलो प्रादेशिक अभिमूखीकरण कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् । ‘नेपाली काँग्रेसको युग सकियो, प्रजातन्त्र स्थापनामा उस्को ठुलो भूमिका रह्यो । अब काँग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्छ,’ उनले भने । जनताको समृद्धि र विकास गर्ने पार्टीको रुपमा नयाँ पार्टी आएको उल्लेख गर्दै उनले थपें, ‘अब, समाजवादी पार्टीले यसको नेतृत्व गर्छ ।’

अर्का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी जुनसुकै बेला सडकमा आउन सक्ने बताए । आफूहरु सामेल हुँदा दुई तिहाइ पनि पुग्ने र संविधान संशोधनको बाटो पनि खुल्ने भएकाले सरकारमा गएको बताउँदै सहमति पूरा नभएर सडक आन्दोलनमा उत्रने बताएका हुन् । संविधान संशोधन गरेर त्रुटी नसच्याए सडक आन्दोलनको विकल्प नभएको बताए ।

यादवले त्यसका लागि तयार रहन नेता कार्यकर्तालाई आह्वान गरे । ‘आफूले गरेको वचन, हस्ताक्षर र प्रतिवद्धतामा जो कोही उभिनुपर्छ । उभिदैनन् भने जनताले के भन्ने त्यो पनि समय आउँदैछ,’ यादवले भने, ‘हामी सरकार समातिरहन गएका होइनौँ, संविधान सच्याउन र पाएको अधिकारीलाई रक्षा गर्न गएका हौँ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।