मोडल खुस्बुलाई चेक बाउन्स मुद्धामा तीन महिना कैद

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी चरीकी प्रेमिकाको रुपमा एक समय चर्चामा आएकी खुस्बु ओली फेरी चर्चामा आएकी छिन् ।

चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले तीन महिना कैद सजाय सुनाएपछि उनी एकाएक चर्चामा आएकी हुन् ।

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार खुश्बुलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।

सप्तरीका गोपालबहादुर कट्वालले आफूलाई दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि खुश्बुविरुद्ध साउन १९ गते मुद्दा दार्ता गरेका थिए । सापटी लिएको रकम तिर्न खुश्बुले कट्वाललाई चेक दिएकी थिइन् ।

अब खुस्बुले ३६ लाख रुपैया त तिर्नुपर्ने नै भयो । साथमा तीन महिना जेल बसेर तीन हजार रुपैया जरिवानासमेत तिर्नुपर्ने भएको छ ।

को हुन् खुस्बु ?
सन् २००० मा काठमाडौं जेसिसले गरेको प्रतियोगितामा ‘लिटिल लेडी’को च्याम्पियन भएकी थिइन् खुस्बु । त्यसपछि सन् २००६ मा उनले मिस टिनको ताज पहिरिन् ।
उनी गुण्डा नायिके चरीकी प्रेमिकाको रुपमा समेत चर्चामा आएकी थिइन् ।

उनले म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् । केही वर्षअघि काठमाडौंको फर्पिङमा सपना आमाघर खोलेर उनी समाजसेवामा प्रवेश गरेकी थिइन् ।

उनले विशालनगरमा पनि ‘स्ट्रिट चिल्ड्रेन रिह्याबिलिटेसन होम’ स्थापना गरेकी छन् । जहाँ ३५ भन्दा बढी सडक बालबालिकाले लालनपोषण पाउँदै आएका छन् ।

नेपालका सडक बालबालिकाले रूसको मस्कोमा भएको स्ट्रिट चाइल्ड विश्वकपमा समेत उनकै पहलमा भाग लिने अवसर पाएका थिए । खुस्बुले रिह्याबिलिटेसन अफ स्ट्रिट चिल्ड्रेन बिफोर एन्ड आफ्टरु नामक डकुमेन्ट्री पनि बनाएकी छन् ।

त्यस्तै, झापाको सुरुंगाका गरिब परिवारका लागि २० वटा रिक्सा किनिदिएकी ओलीले निःशुल्क सेवा दिने सर्तमा सुरुंगाकै रेडक्रस उपशाखालाई एम्बुलेन्स समेत दिएकी थिइन्। आफू पढेको झापको कन्काई माविमा हजुरबुबाको नाममा गरिब विद्यार्थीका लागि खुस्बुले एक लाखको कोष स्थापना गरेकी छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।