शिक्षकले आफ्ना विद्यार्थीलाइ बोक्सीको आरोप लगाउँदै दिसा पिसाब खुवाउँदै निर्घात कुटपिट गरेपछि सहन नदके पछि लक्ष्मीको मृत्यु

हाम्रो सन्देश संवाददाता

जेठ ,९ काठमाडौं ।

कुनै जमाना थियो–गुरु अर्थात् शिक्षकलाई कर्म इने बाबू आमा वा देवताका रुपमा मान्ने । आधुनिक जमानामा पनि शिक्षकलाई मान्ने मूल्य–मान्यताको रुप मात्र बदलिएको छ । तिनलाई अहिले आदरणीय, मार्गदर्शक र सहजकर्ताका रुपमा हेरिन्छ ।तर, बदलामा शिक्षकहरुले आफूलाई शासक÷प्रशासक र बालबालिकालाई केवल तह लगाउने व्यक्तिको रुपमा ठान्दा ठूला–ठूला नचिताएका घटनाहरु विद्यालय भित्र वा बाहिर घटिरहेका छन् ।

यसले शिक्षकलाई बदनाम बनाउँदै लगेको छ । केही क्रूर शिक्षकका कारण बालबालिकाले मानसिक, शारीरिक क्षति व्यहोरिरहेका छन् जसले गर्दा असल र कर्तव्यपरायण शिक्षकका निम्ति पनि शिक्षण पेशालाई आदरणीय बनाउन हम्मे परिरहेको छ ।

केही दिनअघि काभ्रेकी लक्ष्मी परियारको स्थानीय शिक्षकको कुटाइ र अपहेलनाका कारण मृत्यु भयो । उनलाई समाजकै आर्दश मानिने शिक्षकले आफ्ना विद्यार्थीसमेत रहेका परियारका छोराकै अगाडि बोक्सीको आरोप लगाउँदै दिसा खुवाउँदै निर्घात कुटपिट गरे । यही कारण परियारको मृत्यु भयो । शिक्षकले भनेपछि ‘ठीक हो’ भन्ने मान्यता राख्ने समाज र आदर्श शिक्षक जगतले ती शिक्षकको नाजायज हर्कतले शीर निहुराउन बाध्य बन्यो ।

असल शिक्षा दिएर विद्यार्थीको उज्ज्वल भविष्य बनाउने जिम्मा पाएका शिक्षकहरुले नै विद्यार्थीको भविष्य बर्बाद पार्न उद्दत देखिन थालेका छन् । सजाय दिने नाममा शिक्षकले विद्यार्थीका आँखा फोडिदिने, यौन दुव्र्यवहार गर्ने र लैंगिक एवं जातिय विभेद गर्ने गरेका घटनाहरु समाचार निरन्तर सुन्नु परेको छ । त्यसो त, बलात्कारदेखि विभत्स हत्या गर्नेसम्मका घटनाहरु शिक्षकसँग जोडिएका छन् । विद्यार्थी एवं समाजले रोलमोडल ठान्ने शिक्षक आफैं गलत र कुकर्ममा लाग्न थाल्नुले शिक्षा जगतमा गम्भीर प्रश्न उठेको छ ।

सम्मानित पेशा र आदर्श व्यक्तित्व शिक्षक क्रमशः आफ्ना कुकृत्यका कारण विद्यार्थी र समाजबाट तिरस्कृत बन्दै जान थालेका छन् । शिक्षककै कारण विद्यालय असुरक्षित बन्दै जानुले विडम्बना निम्तिएको छ । शिक्षकसँगै विद्यार्थी र समाज डराउनुपर्ने अवस्था सिर्जना हुन थालेका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।