पाँचथरमा घट्यो भयानक घटना, एकैदिन ९ जनाको विभत्स हत्या, यस्तो भन्छ प्रहरी

हाम्रो सन्देश संवाददाता

फिदिम ,७ ज्येष्ठ ।

पाँचथरमा भयानक घटना घटेको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी हत्या भएको हो । खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्ने क्रममा १ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले २ परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि प्रहरी घटनास्थल जान लागेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी वस्तीका अनुसार हत्याराले ढोका थुनेर सामूहिक हत्या गरेका हुन्।

उनले भने, ‘गाउँलेले थाहा पाउलान् भनेर हत्याराले ढोका थुनेर हत्या गरेर भागेको गाउँलले बताए। ढोका थुनेपछि हामफालेर भाग्न खोज्दा १ जनाको खुट्टा भाँचिएको छ। उनी घाइते छन्। स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भन्ने जानकारी आएको छ।’

वस्तीका अनुसार गएराति विभत्स घटना भएपनि घटनाबारे जानकारी आज बिहान पौने ६ बजे मात्रै उनलाई आएको थियो। घटनाबारे जानकारी आउने वित्तिकै नजिकैको प्रहरी चौकीबाट प्रहरी खटाइएको उनले टेलिफोन कुराकानीका क्रममा जानकारी दिए।

उनले भने, ‘निकै विभत्स घटना भयो। जानकारी पाउने वित्तिकै नजिकैको चौकीबाट प्रहरी पठाइयो भने जिल्ला प्रहरी कार्यालयबाट डिएसपीसहितको टोली पनि घटनास्थल गइसकेको छ।’

वस्तीका अनुसार नजिकैको चौकीबाट घटनास्थल २०/२२ किलोमिटर टाढा छ भने सदरमुकामबाट करिव ६० किलोमिटर टाढा पर्छ। नजिकैको चौकीबाट गएको प्रहरीले अहिले प्रारम्भिक विवरण लिइरहेको उनले जानकारी दिए। विकट ठाउँ र कच्ची बाटो भएकोले तत्काल घटनास्थलमा प्रहरी पुग्न नसकेको उनले बताए।

गाउँलेको भनाइ उद्धृत गर्दै वस्तीले दिएको जानकारी अनुसार गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधि घटनास्थलमा पुगेका छन्। प्रजिअ वस्तीले डिएसपी नेतृत्वको टोली घटनास्थल पुगेपछि मात्रै थप विवरण आउने बताए। यति धेरै जनाको विभत्स हत्या कसले, किन गर्यो भन्नेबारे केहि खुलेको छैन ।

यता पाँचथरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मुरारी वस्तीले घटनास्थल सदरमुकामबाट टाढा रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको बताए । उनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट डीएसपी र नजिकैको इलाका प्रहरी कार्यालयबाट इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको उनले बताए ।

पाँचथरसँगै छिमेकी जिल्ला झापाबाट पनि प्रहरी बोलाइएको छ । घटनाबारे अनुसन्धानका लागि झापाको साथ खोजिएको प्रजिअ वस्तीले बताए । प्रजिअ वस्तीका अनुसार, झापाबाट डीआईजीसहितको अनुसन्धान टोली अहिले घटनास्थलतर्फ लागेको छ ।

यस्तै उता धरानका होटलमा बन्धक बनाइएका ६ जना युवतीलाई प्रहरीले उद्धार गरेको छ। स्थानीय चारजना होटल संचालकले जबरजस्ती होटलमा बन्धक बनाएर यौन व्यवसायमा लगाएको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धरानको टोलीले ती होटलहरुमा छापा मारी ६ युवतीको उद्धार गरेको डिएसपी ढुण्डिराज न्यौपानेले बताए। उनका अनुसार प्रदेश–१ का विभिन्न जिल्लाहरुबाट युवतीलाई जबरजस्ती होटलमा बन्धक बनाएर होटलमा आउने पाहुनाहरुसँग महँगो रकम लिएर यौन सम्पर्कमा गरिएको थियो।

युवतीहरुलाई बन्धक बनाएर जबरजस्ती यौन कार्यमा लगाएको भन्दै प्रहरीले होटल संचालकहरु दिपेन्द्र श्रेष्ठ, खिसाबहादुर राई, लिला बहादुर बस्नेत र नविन मगरलाई पक्राउ गरेको छ।

संखुवासभा, झापा, सुनसरीको चतारकी एकरएक युवती र धरानका तीन युवती सहित ६ जनालाई युद्धार गरि परिवारको जिम्मा लगाइएको उनले बताए। प्रहरीले धरान–७ को होटल एवान, परेली होटल, धरान–९ को होटल साकेला र धरान–१२ को फाइन होटलमा छापा मारेर प्रहरीले बन्धक बनाइएका युवतीको उद्धार गरेको हो।

प्रहरीले धरान आसपासका होटलहरुमा पूर्वी पाहाडी जिल्लाहरुबाट युवती ल्याएर बन्धक बनाई जबरजस्ती यौन क्रियाकलापमा लगाउने गरेको पाइएपछि अन्य होटलहरुमा समेत निगरानी बढाएको छ। संचारकेन्द्र संवाददाता

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।