लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,७ ज्येष्ठ ।

राष्ट्रिय जनता पार्टीले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपाका सांसद चन्दा चौधरीले मधेस आन्दोलनमा भएको दमनबारे छानवीन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी हुन्। आफूहरुले लामो समयदेखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको र सदनबाट रुलिङ भइसक्दा पनि सरकारले रुलिङ नमानेकोतर्फ उनले सभामुखको ध्यानाकर्षण गराइन्।

सभामुख कृष्णबहादुर महराले सोमबारको बैठक सुरु भएको जानकारी गराउने बित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुखले सांसद चौधरीलाई बोल्न समय दिएका थिए।
सभामुख कृष्ण बहादुर महराले राजपाले उठाउदै आएको लाल आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको र केही

सयम पछि उचित जवाफ दिने आश्वासन दिएपछि राजपाका सांसदहरुले आसन ग्रहण गरेका थिए। ‘सदस्यहरुले उठाउँदै आएको विषयमा सरकारको पर्याप्त ध्यान गएको मैले ठानेको छु। कारणसहित केही समयपछि सरकारले उचित जवाफ दिन्छ,’ सभामुख महराले भने।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।