जब नविना लामाको रेस्टुरेन्टमा कांग्रेस नेता प्रकाशमान पुगे…

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,६ ज्येष्ठ ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद एवम् विद्यार्थी संगठन अनेरास्ववियुकी पूर्वअध्यक्ष नविना लामाको रिमठिम रेस्टुरेन्ट यतिखेर चर्चामा छ । नेता तथा कार्यकर्ताको घुईंचो लाग्ने उक्त रेष्टुरेन्टमा नै नेतृ लामाको दिनचर्या वित्दै आएको छ ।

रेष्टुरेन्टकै कारण पनि पछिल्लो समय थप चर्चामा आएकी नेतृ लामालाई यतिखेर भ्याईनभ्याई छ । दैनिकजसो उक्त रेष्टुरेन्टमा नेता तथा कार्यकर्ताहरु त्यहाँ जान्छन् र लामालाई राजनैतिक सँगै व्यवसायीक जीवनको शुभकामना दिन्छन् ।

नबिनाले युवाहरुसँग मिलेर मीनभवनस्थित संसद भवन अगाडि रिमठिम रेस्टुरेन्ट एण्ड कफी शप सञ्चालनमा ल्याएकी छिन्। यो रेस्टुरेन्ट पछिल्लो समय राजनीतिक नेता कार्यकर्ताको थलो बनेको छ।

यसैबिच, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेकपाकी सांसद एवं अनेरास्ववियुकी पूर्वअध्यक्ष नबिना लामाले सञ्चालन गरेको कफी शपमा पुगेका छन्।

लौह पुरूष गणेशमान सिंहका छोरा एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहेका प्रकाशमानले नबिना फरक पार्टीको युवा नेतृ भए पनि उनले सञ्चालन गरेको रिमठिम रेस्टुरेन्ट एण्ड कफी शपमा पुगेर व्यवसायिक सफलताको शुभकामना दिएका हुन्। प्रकाशमानलाई नबिनाले स्वागत गरेकी थिइन्।

सिंहका प्रेस सहयोगी युपी लामिछानेका अनुसार राजनीतिमा जस्तै व्यवसायमा पनि सफल हुन नबिनालाई शुभकामना दिएका थिए।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।