माओवादी र प्रहरीविच डालिपोरामा ठुलो भिडन्त, कमाण्डरसहित ५ जनाको मृत्यु , थप बिबरणसहित

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,३ ज्येष्ठ ।


पृथकतावादी लडाकु तथा सुरक्षाकर्मीबीच भएको भीडन्तमा ५ जनाको ज्यान गएको छ । दक्षिणी कश्मीरको डालिपोरा जिल्लामा भएको भीडन्तमा मारिनेमा एकजना लडाकु कमाण्डर समेत छन् ।

लडाकुहरु एक घरमा लुकेर बसेको आशंकामा सुरक्षाकर्मीले कारवाही गरेको र लडाकुले जवाफी फायरिङ गरेपछि भीडन्त भएको थियो । सुरक्षाकर्मीले लडाकु लुकेर बसेको भनिएको घरमा एक गैरसैनिकलाई घरभित्र जान बाध्य बनाएको र भीडन्तमा उनको समेत ज्यान गएको स्थानीयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर, भारतीय सुरक्षा निकायले भने उक्त आरोप खण्डन गरेको छ । भीडन्तपछि स्थानीयले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा वर्षाएका थिए । जवाफमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

त्यस्तै साउदी अरब नेतृत्वको गठबन्धनले यमनमा शिया लडाकु समूह हुथीको नियन्त्रणमा रहेको राजधानी सानामा हवाई आक्रमण गरेको छ । साउदी अरब नेतृत्वको गठबन्धनले सानाका विभिन्न ९ सैनिक निशानामा आक्रमण गरेको जनाएको छ । आक्रमणमा हुथी लडाकुका अखडालाई निशाना बनाइएको र सर्वसाधारणको ज्यान बचाउनका लागि सक्दो प्रयास गरिएको गठबन्धनले जनाएको छ ।

यता हुथी लडाकुद्वारा सञ्चालित संचारमाध्यमले भने आक्रमणमा ६ सर्वसाधारणको ज्यान गएको र अन्य ५२ जना घाइते भएको जनाएको छ । मारिनेमा ४ जना बालबालिका समेत रहेको जनाइएको छ ।

उता उत्तर कोरिया दशकौंयताको चरम खडेरीको मारमा परेको छ । ३७ वर्षयताकै चर्को खडेरीको मारमा परेको उत्तरले खडेरीले पुर्‍याएको असरविरुद्ध जुध्न नागरिकलाई आह्वान गरेको छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका एक करोड जनता तत्काल खाद्यान्न सहयोगको आवश्यकतामा रहेको जनाएको केही समयपछि नै उत्तरले यस्तो आह्वान गरेको हो ।

खडेरीका कारण बालीनालीमा व्यापक क्षति पुगेको बताइएको छ । यस वर्ष सन् १९८२ यताकै सबैभन्दा कम पानी परेको छ । यसअघि, ९० को दशकको खडेरीका कारण उत्तर कोरियामा लाखौंको मृत्यु भएको विश्वास गरिन्छ । आणविक कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि सन् २००६ यता अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेको छ ।

यस्तै टेष्ट ड्राइभका लागि भन्दै करोडौं पर्ने फेरारी चोरी भएको छ । जर्मन शहर डसलडर्फमा टेष्ट ड्राइभका लागि भन्दै फेरारी लिएर गएका मानिस फरार भएका हुन् ।

सन् १९८५ मा निर्माण भएको फेरारी २८८ जीटीओ चोरी भएको हो। चोरी भएको फेरारीको मूल्य २ करोड २० लाख अमेरिकी डलर पर्ने जनाइएको छ । शुरुमा ट्याक्सी चढेर आएको ग्राहकले टेष्ट ड्राइभका लागि विक्रेताका प्रतिनिधि फेरारीबाट ओर्लिनेबित्तिकै ग्राहक फेरारी लिएर भागेका थिए ।

चोरिएको फेरारी केही घण्टापछि एउटा ग्यारेजमा फेला परेको थियो । चोरी भएको फेरारी सन् १९९५ देखि १९९९ सम्म फर्मुला वानका चालक उत्तरी आयरल्याण्डका एडी एर्विनले प्रयोग गरेको जनाइएको छ । यद्यपि चोरलाई भने प्रहरीले तीब्र रुपमा खोजी गरिरहेको जनाइएको छ ।

यता दक्षिण सुडानले कार्यक्षेत्रमा अनुपस्थित भएको आरोप लगाउँदै आफ्ना ४० जना कूटनीतिज्ञलाई बर्खास्त गरेको छ । दक्षिण सुडानले विदेश मन्त्रालयसँग अनुमति नलिइकन खटाइएको क्षेत्रमा अनुपस्थित रहेका ४० कूटनीतिज्ञलाई बर्खास्त गरेको हो । यसअघि सम्बन्धित मन्त्रालयलाई जानकारी नगराइकन गैरकानुनीरूपमा काम गर्दै आएका उनीहरूलाई आफूलाई खटाएको क्षेत्रमा अनुपस्थित हुनुको कारणबारे स्पष्टीकरण सोधेको थियो ।

विदेश मन्त्रालयका उपसचिव बाक वालेन्टिनो आकोलले बर्खास्तमा परेका अधिकारीहरूले आफू मातहतको विदेश मन्त्रालयको निरन्तरको निर्देशनलाई पालना नगरेको बताए । उनीहरूलाई काममा अनुपस्थित हुनाको कारणसहित ४५ दिने स्पष्टिकरण सोधिएको भए पनि यसबारेमा जवाफ नआएपछि कारबाहीस्वरुप बर्खास्त गरिएको उनको भनाइ थियो ।

बर्खास्तमा परेका कूटनीतिक अधिकारीलाई उनीहरूले लिएका कूटनीतिक राहदानी तथा उनीहरूको परिवारले लिएका राहदानीहरू राजदूतावास तथा कूटनीतिक नियोगमा बुझाउनसमेत सूचना जारी गरिएको छ । कारबाहीमा परेका अधिकारीको नाम भने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छैन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।