प्रचण्डका विश्वास पात्र दीपशिखालाई किन रुचाउदैन् ओली ? यस्तो छ कारण

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,३ ज्येष्ठ ।

प्रचण्डका विश्वास पात्र मानिने वाईसीएल अध्यक्ष तथा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले एकीकृत युवा सङ्गठनको नेतृत्व पाएका छन् । उनलाई युवा सङ्गठनको नेतृत्व दिलाउन प्रचण्डले गरेको मिहिनेतमा पूर्व एमाले वरिष्ठ नेता माधवकुमार नेपालको हात पनि छ ।

दीपशिखा शान्त र शालीन स्वाभावका नेता मानिन्छन । उनी समसामयिक राजनीतिक अवस्था, देशको परिस्थितिको बारेमा सामाजिक सञ्जालसहित मिडियामार्फत पनि आफ्नो धारणा दिइरहन्छन् । उनी पार्टीभित्रकै खराबीबिरुद्ध पनि खुलेर आलोचना गर्छन् । ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न कत्ति पनि पछि पर्दैनन् दीपशिखा ।

उनको यस्तै स्वभावले पूर्व माओवादीभित्र मात्रै हैन पार्टी एकीकरणपछि पूर्व एमालेका युवाहरुले पनि उनलाई रुचाएको देखिन्छ । तर यिनै दीपशिखा पार्टी अध्यक्ष समेत रहेका केपी ओलीका नजरमा भने अराजक छन् । युवा सङ्गठनको नेतृत्व पूर्व माओवादीलाई दिन बल्लतल्ल तयार भएका प्रधानमन्त्री ओली अझै पनि भित्रि मनबाट दीपशिखालाई संयोजक बनाउन तयार भएका छैनन् ।

कारण हो अहिले पनि २ तिहाइ सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै दीपशिखा गरेको आलोचना । पूर्व माओवादी केन्द्रका एक नेताले दीपशिखा खुलेर आलोचना गर्ने र नेताहरु खबरदारी गर्ने नेता भएकोले ओलीले उनलाई मन पराउदैनन् । गुटउपगुटको अभ्यासबाट आएको एमालेभित्र नेताको पक्षपोषण गर्ने र आलोचना नगर्ने नेता कार्यकर्तालाई नेताहरु नजिक राख्ने गर्छन् ।

ती नेताले संचारकेन्द्रसंग भने- ‘दीपशिखाले ओलीको सिधा समर्थ गर्दैनन् । तर आलोचनात्मक समर्थन गरेको चाहिँ ओली कमरेडलाई मन पर्दैनन् । त्यसैले पनि युवा सङ्गठनको नेतृत्व दिन उहाँलाई अलि गाह्रो परेको हुनसक्छ । तर युवा सङ्गठननेतृत्वका लागि दीपशिखा नै उत्तम पात्र हुन् ।’

नेकपाले शुक्रबार मदन-आश्रित स्मृति दिवसको अवसरमा जबसको एकता घोषणा गरेको छ । उक्त घोषणापछि युवा संगठन नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’लाई बधाईको ओइरो आएको छ ।

मदननगर बल्खुमा आयोजित २६ औ मदन-आश्रित स्मृति दिवसको अवसरमा औपचारीक घोषणापछि संयोजक दिपशिखालाई खादा लगाएर सम्मान समेत गरिएको छ । पार्टीले दिपशिखालाई नेतृत्वको जिम्मा दिएपछि अहिले उनलाई बधाई दिने तथा सामूहिक तस्बिर खिचाउनेको भीडले घेरेको छ ।

युवा संगठनको सह-संयोजकको रुपमा पूर्वएमनालेको तर्फबाट रमेश पाैडेल चुनिएका छन् । युवाका संयोजक तथा सहसंयोजकले सामूहिक तस्बिर खिचाएर एकताको सन्देश दिन खोजेका छन् । उनीहरु पार्टीले गरेको निर्णय सहर्ष स्विकार गर्ने भन्दै अबको युवा संगठन मजबुत र बलियो बनाउने तर्|प केन्द्रित हुने सामहूक प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

तर, यता विद्यार्थीमा भने विवाद सिर्जना भएको छ । पूर्वएमालेको अखिलका महासचिव रहेका ऐन महरलाई संयोजक तोकेपछि पूर्वमाओवादीका विद्यार्थी अध्यक्ष रञ्जित तामाङले राजीनामा दिने बताउदै आएका छन् । उनले नविना लामालाई संयोजक स्विकार गर्न तयार रहेपनि महरलाई संयोजक स्विकार गर्न नसकिने बताइसकेका छन् । पार्टीले आफूलाई अन्याय गरेको उनको ठहर छ ।

नेकपा सचिवालयले बिहीबार विद्यार्थी संगठनको संयोजक ऐन महर र रञ्जित तामाङलाई सहसंयोजक तोकेको थियो । महर तत्कालीन एमाले सम्बद्ध अनेरास्ववियुका महासचिव थिए भने एमाले सम्बद्ध अनेरास्ववियुकी अध्यक्ष नविना लामा हुन् । तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको जोडबलमा महरलाई संयोजक बनाइएको छ ।

यसलाई लिएर अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष रश्मी आचार्यले असन्तुष्टि जनाएका छन् । विचित्रको एकता भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘अध्यक्ष नहुने भए उपाध्यक्षलाई बनाउनुपर्नेमा अनेरास्ववियूमा एकैचोटी महासचिवमा पो झरेको भन्ने सुनियो । अध्यक्षपछि रोल नं. २ उपाध्यक्षको हो भन्ने कुरा स्वयंसिद्ध होइन र ?’

अनेरास्ववियु अध्यक्ष नविना लामा समानुपातिक कोटाबाट सांसद बनेपछि आचार्य कार्यवाहक अध्यक्षको जिम्मेवारीमा थिए । उनले एकतापछि विद्यार्थीको नेतृत्वमा दावी गर्दै आएका थिए ।

‘अनेरास्ववियू’को सहसंयोजक तोकिएका रञ्जित तामाङ तिब्र असन्तुष्ट बनेका छन् । तत्कालीन माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीको अध्यक्ष रहेका उनी नेतृत्वको दावेदार थिए । अनेरास्ववियूका महासचिव महरलाई संयोजक दिएर आफूलाई सहसंयोजक बनाएकोमा असन्तुष्ट तामाङ भने, ‘यो मेरो अपमान हो, नविना लामा संयोजक भएको भए म सहसंयोजक बन्थें । तर, महासचिवको मुनि बस्ने कुरा हुँदैन ।’

आफ्नो अपमान भएको भन्दै तामाङ राजीनामा दिने तयारीमा छन् । नेकपाले अन्य जनवर्गीय संगठनहरुको संयोजक पहिले अध्यक्ष जो थियो उसैलाई तोकेको छ । तर महासचिवलाई एकैपटक संयोजकको जिम्मेवारी दिइएको विद्यार्थी संगठनमा मात्र हो । त्यसैले तत्कालीन अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले यसरी जिम्मेवारी तोकिनुलाई विधि विपरित भनेर टिप्पणी गरेका छन् ।

बस्नेतले फेसबुकमा लेखेका छन्, ‘एकापट्टीको निर्वाचित अध्यक्षलाई अर्कापट्टीको अध्यक्ष मुनि मात्र हैन, उपाध्यक्ष मुनिसमेत पनि हैन, महासचिवभन्दा मुनि राखेर विधि भनिन्छ भने त्यो अरु-अरु कुरा होला, कमसेकम विधि चाहिँ हैन ।’ तर यदि रञ्जित तामाङ महरको नेतृत्वमा बस्न तयार भएनन् भने बस्नेत सहसंयोजक बन्ने लगभग पक्का जस्तै छ ।

अनेरास्ववियू क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लले पनि आफ्ना असन्तुष्टि फेसबुकमार्फत नै सार्वजनिक गरेका छन् । उनले नेतृत्वलाई सुझाव भन्दै लेखेका छन्, ‘पाइलापिच्छे फरक मापदण्ड निर्माण गरेर कार्यकर्ताको हुर्मत लिने काम नगरियोस् । विश्वासको धरातल कमजोर भयो भने अहंकारको पर्खाल गर्ल्यामगुर्लुम ढल्न कुनै आइतबार कुर्नु पर्दैन ।’

यस्तै काठमाडौंको बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनवर्गीय संगठनका संयोजकहरूको नाम पढेर सुनाइएको छ । बिहीबार बसेको सचिवालय बैठकले २३ जनसंगठनमध्ये २२ संगठनको भागबन्डा टुङ्ग्याउँदै घोषणा गरिएको छ ।

एउटा पक्षले संयोजकको जिम्मा पाएको संगठनमा अर्को पक्षलाई सह–संयोजक बनाइएको छ । नेकपाका महासचिव विष्णु पौडेलले सबै जनसंगठनको नेतृत्वको नामावली सार्वजनिक गरेका हुन् । जसअनुसार नेपाल मुस्लिम संगठन, २ सय ५१, संयोजक सराहज अहमद, सहसंयोजक अटहर हुसेन रहेका छन् ।

प्रेस संगठन नेपाल, १ सय ५१ संयोजक महेश्वर दाहाल, सहसंयोजक गणेश बस्नेत, अपाङ्गता संगठन नेपाल, ६९ संयोजक इन्द्रमाया गुरुङ, सहसंयोजक रामप्रसाद ढुङ्गाना, खेलकुद महासंघ, नेपाल संयोजक पुरुपोतमा पौडेल, सहसंयोजक शिव कोइराला, नेपाल दलित मुक्ति संगठन २ सय ५१ संयोजक तिलक परियार, सहसंयोजक बोमबहादुर विश्वकर्मा, जनसांस्कृतिक महासंघ नेपाल २ सय ५१ संयोजक खगेन्द्र राई, सहसंयोजक सूर्य पौडेल, नेपाल उद्योग व्यवसायी महासंघ, १ स ५१ संयोजक लक्ष्मीदास मानन्धर, सहसंयोजक श्याम पाठक रहेका छन् ।

त्यस्तै नेपाल बुद्धिविजबी संगठन, १ सय ६१ संयोजक दिनेशचन्द्र देवकोटा, सहसंयोजक कृष्ण केसी, मानवअधिकार तथा समाजिक अभियान ४५, संयोजक मीनबहादुर शाही, सहसंयोजक भुपेन पोखरेल, पेशागत महासंघ, १ सय ११ संयोजक विश्वनाथ प्याकुरेल, सहसंयोजक दयाराम बस्याल, भूमिहीन सुकुम्वासी संगठन, ९९, संयोजक रामप्रित पासवान, सहसंयोजक पदम देवकोटा, नेरास्ववियु २ सय ५१, संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ रहेका छन् ।

यस्तै युवासंघ २ सय ५१ संयोजक रामप्रसाद सापकोटा, सहसंयोजक रमेश पौडेल, आदिवासी जनजाती महासंघ, २ सय ५१ संयोजक सुरेश आलेमगर, सहसंयोजक शेरबहादुर तामाङ, भूतपूर्व सैनिक तथा प्रहरी संगठन २ सय ५१ संयोजक धनबहादुर चन्द, सहसंयोजक जीवन बुढा, ट्रेड युनयिन महासंघ २ सय ५१ संयोजक विनोद श्रेष्ठ, जगत सिंखडा, अखिल नेपाल महिला संघ २५१ संयोजक अमृता थापा, सहसंयोजक सीता पौडेल रहेका छन् ।

यस्तै अखिल नेपाल किसान महासंघ २ सय ५१ संयोजक बामदेव गौतम, सहसंयोजक चित्र बहादुर श्रेष्ठ, प्रवासी नेपाली एकता मञ्च भारत १ सय ९९ संयोजक लोकनाथ भण्डारी, सहसंयोजक ईश्वरी भण्डारी रहेका छन् । नेपाल कानून व्यवसायी, निर्माण व्यवसायी र इन्जिनियरहरूको संगठनमा भने यसअघि एकता भैसकेको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध गर्नेहरू गणतन्त्रका संस्थाहरूको विरोधी भएको आरोप लगाएका छन् ।

२३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राष्ट्रपतिको आलोचना गर्ने नेपाली कांग्रेस र वुद्धिजीवीहरू गणतन्त्र विरोधी भएको बताए ।

‘राष्ट्रपतिले मेरो सरकार भन्दा किन विरोध ? मेरो सरकार नभनेर के अर्काको सरकार भन्ने ?’, उनले भने, ‘भारतमा पनि मेरो सरकार भन्ने गरिन्छ । यहाँ स्याल हुइँया मच्चाइयो । बुद्धिजीवीहरूले पनि कुरै बुझेनन् । नचाहिँदो कुरामा ध्यान केन्द्रित गर्ने । नचाहिने असान्दर्भिक कुरा उठाएर विरोध गर्ने काम मात्रै भयो ।’

प्रधानमन्त्री ओलीले राष्ट्रले मेरो सरकार भनेको कुरालाई सहज रुपमा लिनुपर्ने बताए । ‘राजाले पनि मेरो सरकार भन्थे । राष्ट्र प्रमुखले पनि भन्छन्’, उनले भने, ‘कांग्रेसले यति पनि कुरा बुझेन । आफूलाई जेठो पार्टी भन्छ । राष्ट्रपतिको होइन गणतन्त्रको विरोध गरेको हो ।’

प्रधानमन्त्री ओलीले देशमा अराजकता र अनुशासनहीन हुन नदिने चेतावनी दिएका छन् । ‘हाम्रो विरोध गर्ने नाममा समाजलाई अनुशासनहीन बनाइँदै छ । यो कार्य गर्न दिइने छैन । प्रतिक्रियावादी शक्तिहरूलाई सफल हुन दिने छैनौँ’, ओलीले भने, ‘सामाजिक सञ्जालमा अराजकता हुने गरेको छ ।’

ओलीले अर्को पटक दुई तिहाइको बहुमत ल्याएर एकलौटी सरकार बनाएर देखाउने बताए । ‘अलिकतिले दुई तिहाइको बहुमत आएको छैन । अर्को पटक दुई तिहाइ आउँछ’, उनले भने, ‘यो पार्टी (नेकपा)का नेताहरू धनकमाउन हिँडेका छैनन् । म पनि भ्रष्टाचार गर्दिन । भ्रष्टाचार गर्न पनि दिन्न ।’

ओलीले मदन भण्डारीको सिद्धान्तलाई छाड्न नसकिने बताए । उनले भने, ‘मदन भण्डारीले देखाएको बाटो र राजनीतिक सिद्धान्तलाई छाड्न सकिँदैन । योभन्दा अर्को राम्रो बिकल्प छैन ।’ संचारकेन्द्र संवाददाता

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...