सुरक्षार्थ खटिएका प्रहरीको १४ राउण्ड गोली भरिएको पेस्तोल हरायो

हाम्रो सन्देश संवाददाता

बिर्तामोड,३ जेठ ।

जिल्ला कारागार झापाको सुरक्षार्थ खटिएका एक प्रहरीको पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको छ। सुरक्षामा खटिएका एक प्रहरीले प्रहरी जवानकुमार भोटेलाई हतियार बुझाए पनि प्रहरी भित्रैबाट पेस्तोल हराएको घटना सार्वजनिक भएको हो।

पेस्तोल बुझाउने प्रहरीको नाम भने सार्वजनिक गरिएको छैन । प्रहरी नायव निरीक्षक नरेश आचार्य घर बिदामा गएका बेला कारागार सुरक्षाको जिम्मा प्रहरी सहायक निरीक्षक हिरण सिंहलाई दिइएको थियो। त्यही बेला पेस्तोल हराए पनि कुन दिनदेखि हराएको भन्नेमा प्रहरी नै अनबिज्ञ देखिएको छ।कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबाटै हतियार हराएपछि प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ। समितिले हराएको हतियार बारे अनुसन्धान थालेको जनाएको छ। ‘डीएसपीको नेतृत्वमा छानविन समिति गठन गरी अनुसन्धान भइरहेको छ, बाँकी विवरण आउला’, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भने।

९ महिनाअघि सोही कारागारबाट फरार भएका एक बन्दी अझै फेला परेको छैन। कारागार सुरक्षार्थ खटिएका प्रहरीकै लापरवाहीले एक बन्दी फरार भएका थिए। गौरादह नगरपालिका–८ स्थित जुरोपानी निवासी २४ वर्षीय उमेश माझी फरार भएका हुन्।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...