पूजा शर्माको तीन तलामाथिबाट खसेर निधन

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२ जेठ ।

सुनसरी जिल्लाको इटहरीमा घरको तीन तलामाथिबाट खसेर एक जना किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी ६ स्थित संगीत चौककी १७ वर्षीया पूजा शर्मा रहेकी छिन्।

पूजाको मृत्युको कसरी र किन भयो भन्ने विषयमा केही खुलेको छैन । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति १० बजे मृत्यु भएको इटहरीका डीएसपी समिरचन्द्र खरेलले जानकारी दिएका छन । मृतक पूजा इटहरीस्थित कस्तुरी कलेजमा बीबीएस तेस्रो वर्षमा अध्यनरत् थिइन् ।

यसैबिच सल्यान जिल्लाका विभिन्न सामुदायिक वनमा भिषण आगलागी भएको छ। सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि आगो निभाउने क्रममा तीनको मृत्यु भएको छ ।

जङ्गलको आगो घरमा आउन थालेपछि निभाउने प्रयास गर्दै गर्दा छत्रेश्वरी गाउँपालिका–६ सिमपानीका ५५ वर्षीया पुन्टी बोहरा र शारदा नगरपालिका–९ दुवेरीका ६० वर्षीय गोवर्धन पुनको यही वैशाख २८ गते घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीमा गम्भीर घाइते भएका छत्रेश्वरी–६ सिमपानीका ४० वर्षीय खगेन्द्र बोहराको उपचारका क्रममा काठमाडौंमा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म आगलागीमा परेर छत्रेश्वरी–७ मा अन्नपात लत्ता कपडासहित आठ घर, कालीमाटी गाउँपालिका–१ मा चार घर जलेर नष्ट भएका छन् ।

जिल्लाका सुरक्षा निकाय तथा स्थानीयले आगो निभाउने प्रयास गरे पनि नियन्त्रणमा आउन सकेको छैन। आगो निभाउन जिल्लामा पर्याप्त साधन उपलब्ध नभएकाले आगो नियन्त्रणमा आउन नसकेको सशस्त्र प्रहरी नायब उपरीक्षक विमल डाँगीले बताए।

आगो लगाउने कार्यमा संलग्न भएको भन्दै एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । शारदा–२ मा रहेको चन्द्रपाला सामुदायिक वनमा आगो लगाउँदै गर्दा सोही ठाउँका रामबहादुर वलीलाई पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।

जिल्लाका कपुरकोट, छत्रेश्वरी, कालीमाटी गाउँपालिका र शारदा नगरपालिका भित्रका सामुदायिक वनमा भिषण आगलागी भइरहेको डिभिजन वन कार्यालयका अधिकृत थीरबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै हरीलाई एक सय रुपैयाँ घूस दिन खोजेको आरोपमा एक सवारी चालक झापामा पक्राउ परेका छन्। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका १३ चारआली चोकमा सवारीसाधनका कागजपत्र चेक जाँच गर्ने क्रममा प्रहरीलाई १ सय रुपैयाँ घूस दिन खोज्ने रामकुमार लिम्बूलाई प्रहरीले मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ३ ख ५७९६ नम्बरको ट्रकका चालकले सवारी चालक अनुमतिपत्रै बिना यातायातको साधन चलाएको ड्युटीमा रहेका प्रहरीले फेला पारेका थिए। प्रहरीले चालक अनुमति पत्र माग्ने वित्तिकै चालकले गोजीबाट एक सयको नोट निकालेर मिलाइदिन भन्दै प्रहरीलाई अनुरोध गरेका थिए।

झापा अर्जुनधारा नगरपालिका २ बस्ने वर्ष ४२ वर्षीय लिम्बूले प्रहरीलाई पैसा दिएर प्रलोभनमा पारेको भन्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । संचारकेन्द्र संवाददाता

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।