देश गरिब बैंक धनी किन ? ब्याजदरलाई दुई अंकमा जान दिनै हुँदैन – बाबुराम

हाम्रो सन्देश संवाददाता

काठमाडौँ,३१ वैशाख ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान बैंकिंग प्रणाली प्रति असन्तुष्टि व्यक्त गर्दै मुलुक गरिब हुने तर बैंक धनी हुने परम्पराको अन्त्य गर्न सुझाव दिएका छन्। सांसदमा जारी प्री-बजेट माथिको छलफलको क्रममा उनले यस्तो सुझाव दिएका हुन्।

हाल बैंकहरुले निर्धारण गर्नेगरेको ब्याजदर धेरै नै बढी भएको उनले बताए। बैंकहरूको ब्याजदर दुई अंकमा जान दिन नहुने उनको बुझाइ छ। सहकारीहरूले अझ बढी ब्याजदर लिनेगरेको प्रति पनि उनको असन्तुष्टि छ।

“अहिलेको अवस्थामा १८ प्रतिशतसम्म ब्याज लगाएपछि उद्योग धन्दामा कसले लगानी गर्छ? त्यसैले र्‍याडिकल सुधार गर्नैपर्छ। राम शाहको पालामा १० प्रतिशतभन्दा बढी नलिने व्यवस्था थियो। अझ सहकारीहरूले त बढी लिन्छन् भन्ने सुनिएको छ। यो ठिक भएन।”, उनले भने।

बैंकहरूको ब्याजदरमा सुधार भएमात्रै पुँजी र औद्योगिक क्षेत्र सुधार हुने उनको तर्क छ। ब्याज धेरै दिने नियममा परिवर्तन गरिएन भने पुँजी बैंकमा जाने तर उद्योग तथा लागनीमा नजाने उनको बुझाइ छ।

यस्तै बाबुरामले जल, जंगल र जमिनको स्वामित्व सरकारले लिनुपर्ने पनि पनि बताएका छन्। उनले भने ,”पानी, जंगल, आकाश, खनिज र जमिनका सम्बन्ध सुधार्न सकेनौँ भने अर्थतन्त्रले उडान भर्न सक्दैन।”

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।