भुकम्पको दरार नदेखिएकोले अझै ठूलो भुकम्प जानसक्ने चेतावनी

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३० वैशाख ।

काठमाडौलाई केन्द्र बनाएर अझ ठूलो भुकम्प जान सक्ने भूगर्भविद्हरुले औँल्याएका छन् ।

स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रियरअन्तर्राष्ट्रिय ‘जर्नल’हरुमा आफ्ना अध्ययनको सारका आधारमा लेख प्रकाशन गर्दै नेपालीहरुलाई सचेत भई पूर्व तयारीमा लाग्न सुझाएका छन् ।

नेपालसहित जापान, संयुक्त राज्य अमेरिका र चिनियाँ भूगर्भविद्को टोलीको अध्ययनले यस्तो खतरा देखाएको हो ।

अध्ययनअनुसार गोरखा भूकम्पपछिको दरार भावर र चुरेको सिमानाबाट १०० किलोमिटर उत्तर सीमामा पर्ने काठमाडौँ दक्षिणी क्षेत्रमा आएर अड्किएको देखाएको छ ।

नेपाल भौगर्भिक समाजका अध्यक्ष डा. कविराज पौड्यालका अनुसार गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पपछि सञ्चित शक्ति पूरै नबाहिरिएकाले जोखिम कायमै छ ।

सञ्चित शक्ति काठमाडौँको झनै नजिक सरेको र एकैपटक बाहिर निस्किएमा २०७२ सालको भन्दा ठूलो भूकम्प जानसक्ने खतरा देखाइएको छ ।

हिमालको फेदीमा भूकम्प गइसकेपछि त्यसको दरार बाहिर देखिनुपर्नेमा अहिलेसम्म देखिएको छैन । त्यसैले पनि अर्को ठूलो भुकम्प जाने अनुमान गरिँदै आएको छ ।

विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भई ७ दशमलव ६ रिक्टर स्केलको भूकम्प जाँदा ३१ जिल्ला प्रभावित भएको थियो ।

गोरखा भूकम्पपछि अहिलेसम्म ५०० भन्दा बढी परकम्प गइसकेका छन् ।

विश्व प्रसिद्ध भौगर्भिक ‘जर्नल’ टेक्टोनिफिजिक्समा तीन वर्षअघि एक अनुसन्धान टोलीले प्रकाशन गरेको अध्ययनअनुसार गोरखा भूकम्पपछि काठमाडौँको दक्षिणी भागमा जमीनभन्दा लगभग १०० किमी तल ‘एचएफटी’ नामको दरारमा जमीन अड्किएर शक्ति सञ्चित भइरहेको छ ।

जापानको हिरोसिमा विश्वविद्यालयका प्राध्यापक यासुहिरो कुमाराको टोलीले पनि जमीनमुनि फुटेको चिरा सतहसम्म आइ नपुगेकाले यहाँका प्लेटहरू जुध्दा सञ्चित भएको पूरै शक्ति स्खलन हुन नसकेको देखाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।